धरान: सुनसरीमा आजदेखि निषेधाज्ञालाई अत्यन्तै कडा पारिएको छ ।
जेठ २२ गतेसम्मको लागि थप गरिएको निषेधाज्ञा कार्यान्वयन गर्न प्रहरीलाई दण्ड सजाय गर्ने अधिकारसमेत दिइएको छ । कोरोना महामारीको दोस्रो लहर आएसँगै सुनसरी पनि संक्रमणको चपेटामा परेपछि प्रशासनले निरन्तर निषेधाज्ञा गरिरहेको छ । तर पनि मानिसहरुको पहलपहलमा कमी नभएपछि सुनसरी प्रशासनले सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि ल्याएको अध्यादेश अनुसार दण्ड सजाय गर्ने पनि निर्णय गरिसकेको छ ।
जिल्ला प्रशासन कार्यालयबाट रिसद प्राप्त भइसकेको र आजदेखि निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई जरिवाना पनि लिइने ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए । उनका अनुसार हिजोसम्म उल्लंघन गर्नेहरुलाई सम्झाई बुझाई गर्ने, केही समय होल्ड गर्नेलगायतको कार्यहरु गरिदै आएको थियो । तर, आजदेखि अत्यन्तै कडाई गरिएको उनले बताए । ‘हामीले अत्यन्तै कडा गरेका छौं । हिजोसम्म सम्झाउने बुझाउने काम गर्यौं, अब त्यो समय सकियो, आजदेखि जरिवाना गछौं,’ओलीले भने,‘जिल्ला प्रशासनबाट रसिद पनि प्राप्त भइसकेको छ । सम्झाउने बुझाउने समय सकियो, जरिवाना गछौं ।’ आज बिहानै केही व्यक्तिहरु नियन्त्रण लिएको र अरु थप पनि नियन्त्रण गरेर प्रहरी कार्यालय ल्याउने काम भइरहेको उनले बताए ।
यस्तो छ, दण्ड सजायको व्यवस्था:
कसैले अध्यादेश वमोजिम कुनै काम गर्न बाधा अवरोध सृर्जना गर्न नहुने, गरेमा एक बर्षसम्म कैद वा पाँच लाख रुपैयासम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । यस्तै, अध्यादेश वमोजिम जारी भएको मापदण्डको पालना गर्नुपर्ने, पालना नगरेमा ६ महिनासम्म कैद वा तीन लाखसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।
यसैगरि, अध्यादेश वमोजिम दिइएको आदेश पालना गर्नुपर्ने, कुनै व्यक्तिले उल्लंघन गरेमा एक लाख रुपैयासम्म र कुनै संस्थाले उल्लंघन गरेमा पाँच लाख रुपैयासम्म प्रमुख जिल्ला अधिकारीबाट तत्काल जरिवाना हुनसक्ने व्यवस्था पनि अध्यादेशले गरेको छ ।
यस्तै, मास्क नलगाई सार्वजनिकस्थलमा आवतजावत गरेमा पटकैपिच्छे एक सय रुपैया, मानिसको आवतजावत रोक लगाइएको वा नियन्त्रण गरिएको अवस्थामा उल्लंघन गरेमा पटकै पिच्छे २ सय रुयैया, सवारीसाधन रोक लगाइएको अवस्थामा अनुमति विना वा सुरक्षाकर्मीलाई सुचना नदिई वा विरामी ओसारपसारबाहेक अवस्थामा सवारीसाधन चलाउनेलाई पटकैपिच्छे दुई पांग्रे भए २ हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैया तत्कालै सुरक्षाकर्मीले जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।