धरान: सुनसरी प्रहरीले एक महिनाको अवधिमा २३८ जना फरार अभियुक्त पक्राउ गर्न सफल भएको छ । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार विभिन्न समयको अपराधिक घटनामा अदालतबाट कैद र जरिवानाको फैसला भएपनि फरार रहेका २३८ अभियुक्तहरुलाई पक्राउ गरिएको हो । जिल्ला अदालतको फैसला कार्यान्वयन गर्नको लागि जिल्ला प्रहरी कार्यालयले साउन १ गतेदेखि अभियान चलाउदा उक्त संख्यामा फरार अभियुक्तहरु पक्राउ गरिएको एसपी सञ्जयसिंह थापाले जानकारी दिए । उनले भने,'सम्मानित अदालतबाट कैद र जरिवना तोकी फैसला भएपनि सजाय भुक्तान नगरी फरार रहेका अभियुक्तहरुलाई खोजतलास गरी फैसला कार्यान्वयन गर्न अभियान चलाएका थियौं । साउन १ गतेदेखि अभियान चलाउदा २३८ जना नियन्त्रणमा लिन सफल भयौं ।'

प्रहरीका अनुसार पक्राउ परेकाहरु कर्तव्य ज्यान, डाँडा, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टाचारलगायतमा अदालतबाट सजाय तोकिएकाहरु छन् । पक्राउ परेकाहरुबाट ४९ बर्ष कैद साजय फछ्यौट भएको छ भने ९ लाख ३५ हजार ३५९ जरिवाना पनि असुल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्ने फरार अभियुक्तमा १२ बर्षअघि आफ्ना ५ बर्षीया नातिनीलाई घाँटी बटारेर हत्या गरी फरार बसन्त खत्वेसमेत रहेका छन् । उनले २०६६ बैशाख १६ गते नातिनी सोशिलाकुमारी खत्वेको हत्या गरि प्लाष्टिकको बोरामा खेतमा गाडेर फरार थिए । अदालतले उनलाई जन्मकैद सजाय सुनाएको थियो । 

यस्तै,  डाका मुद्दाका अब्दुल तौवा मिया पनि पक्राउ परेका छन् । उनलाई ६ वर्ष कैद र ७२ हजार ७५० रुपैया जरिवाना भएको थियो । डाँका मुद्दामै ईसराइल मियालाई ६ वर्ष कैद र ७२ हजार ७५० जरिवानाको फैसला भएको थियो । यसैगरि, हनिफ सफि मियाँलाई अपहरण र शरिर बन्धक मुद्दामा ११ बर्ष कैद र १ लाख जरिवानाको फैसला भएको प्रहरीले जनाएको छ ।