धरान: धरानको भानुचोकस्थित एक घरमा आगलागी भएको छ ।
घण्टाघर पुर्वपट्टी रहेको भुपेन्द्र परालीको घरमा आगलागी भएको हो । परालीको घरमा रहेको २ वटा कपडा पसल जलेर पुर्णरुपमा क्षति भएको र अन्यको क्षतिको विवरण आउन बाँकी रहेको वडा नं २ का सदस्य धर्म तामांगले जानकारी दिए । उनका अनुसार कपिला श्रेष्ठ र शशिकला श्रेष्ठको रेडिमेड फेन्सी पसलमा धेरै क्षति पुगेको हो । अहिले आगलागी नियन्त्रणमा आइसकेको छ ।
धरान उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयको पहलमा आगो नियन्त्रणमा आएको हो । दमकल समयमा आएकोले आगो पनि छिट्टै नियन्त्रणमा आएको वडा सदस्य तामांगले जानकारी दिए । 'मुख्य फेन्सी पसल भएको २ वटा सटरमा क्षति पुगेको छ, अरुमा पनि क्षति भएको तर विवरण आउन बाँकी छ,'उनले भने,'इन्भर्टरको वायर सर्ट भएर लागेको हो कि भन्ने छ ।'
ईलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक हेमराज ओलीले आगो पुर्णरुपमा नियन्त्रणमा आइसकेको बताए । ईलाका प्रहरीको सञ्चारका अनुसार सबै पसल बन्द गरेर घर गइसकेको बेला आगलागी भएको थियो । के कारणले आगलागी भएको भन्ने प्रष्ट भइसकेको छैन भने कतिवटा पसलमा क्षति पुगेको छ भन्ने पनि खुल्न बाँकी छ ।