धरान: करिब १० दिनअघि संखुवासभाको मादी नगरपालिका १ मा एकै परिवारका ६ जनाको हत्याकाण्डमा थप एक जना पक्राउ परेको हल्ला आज बिहान चल्यो । थप पक्राउ पर्नेमा यसअघि नै हत्या आरोपमा समातिएका लोकबहादुर कार्कीको भाई भएको विभिन्न सञ्चारमाध्यममा समाचारसमेत प्रकाशित भयो ।
संखुवासभा प्रहरीले भने यो खबर सत्य नभएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय संखुवासभाका मिडिया समन्वय अधिकृत प्रहरी निरीक्षक शुभेश अधिकारीले प्रेस रिलिजमार्फत थप कसैलाई पनि पक्राउ नगरिएको जनाएका हुन् । उनले विभिन्न अनलाइन मिडियामा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको पनि जनाएका छन् । क्लिकधरानसँग मोवाइल सम्पर्कमा प्रहरी निरीक्षक अधिकारीले भने,‘हामीले प्रेस रिजिलमा नै सबै कुरा दिएका छौं, त्यही नै हो ।’
संखुवासभा प्रहरीका अनुसार घटना भएको दिनबाटै प्रहरीले घटनास्थलमा बसेर अनुसन्धान गरिरहेको र हाल ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको कमाण्डमा १० जना प्रहरीले थप अनुसन्धान गरिरहेको छ । खतिवडाको कमाण्डमा घटनाबारे खानतलासी, सोधपुछ, प्रमाण संकलनलगायतको कार्यहरु गरिरहेको र उक्त घटना सम्बन्धमा प्रहरीले थप कसैलाई पनि नियन्त्रणमा नलिएको संखुवासभा प्रहरीले जनाएको छ ।
भदौ २१ गते बिहान नातामा भतिजा पर्ने लोकबहादुरले ५२ बर्षीय तेजबहादुर कार्की, उनकी आमा ८४ बर्षीय पार्वती कार्की, तेजबहादुरकी श्रीमति कमला कार्की, बुहारी रञ्जना कार्की, ११ बर्षीय नाति दिपेन कार्की र ८ बर्षीया नातिनी गोमाको विभत्स हत्या गरेका थिए । तेजबहादुरले सधै आफुलाई हेला गर्ने, होच्याउने गरेको कारण लोकबहादुरले उक्त दिन बिहान आवेगमा आएर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका थिए । उनले तेजबहादुरलाई दाउराको चिर्पटले हिर्काएर हत्या गरेको देखेपछि कमला र बुहारी रञ्जनालाई पनि हत्या गरेका थिए भने दुई बालबालिकाले पनि घटना देखेको कारण उनीहरुको पनि चिर्पट प्रहार गरि हत्या गरेका थिए । त्यसपछि, घरमा खुडो पकाईरहेकी वृद्धा पार्वतीलाई टाउको भित्तामा ठोक्काएर हत्या गरेका थिए ।