विराटनगर: दुई महिनाअघि उर्लाबारीमा फुटबल खेलको क्रममा झगडा भएको बिषयमा छुरा प्रहरी गरि फरार भएका दुई जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उर्लाबारी ८ राजघाटस्थित चौधरी टोलमा साउन १० गते फुटबल खेल्ने क्रममा विवाद तथा झगडा भएको थियो । सोही बिषयलाई लिएर भोलीपल्ट साउन ११ गते २१ बर्षीय सुसन धामी र १७ बर्षीय अभिषेक चौधरीलाई मोटरसाइकलमा आएका युवाहरुले छुरा प्रहार गरेका थिए । उक्ट घटनामा घाइते दुवै जनामध्ये बि एण्ड सि अस्पताल विर्तामोडमा उपचारको क्रममा अभिषेकको मृत्यु भएको थियो ।

प्रहरीका अनुसार छुरा प्रहार गर्ने उर्लाबारी ७ का २७ बर्षीय अभिषेक लिम्बु र वडा ८ का २८ बर्षीय विजय लिम्बु घटना पछि फरार थिए । उनीहरुलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले दुवैलाई सुनबर्षी नगरपालिका ८ बाट शुक्रबार पक्राउ गरेर जिल्ला अदालतमा पेश गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।