धरान:नेकपा एमाले सुनसरीको ७ औं जिल्ला अधिवेशनको बन्द सत्र शुरु भएको छ ।
हिजो शुक्रबार इनरुवास्थित जेलफिल्ड मैदानमा अधिवेशनको उद्घाटन भएको थियो । उद्घाटन समारोह पश्चात अधिवेशनको बन्द सत्र आज बिहान शुरु हुने गरि स्थगित गरिएको थियो । बन्द सत्र सञ्चालनको लागि एमाले केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इञ्चार्ज जगदीश कुसियैतको अध्यक्षतामा ११ सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको छ ।
अध्यक्ष मण्डलले बन्द सत्रमा प्रतिनिधिहरुले पालना गर्नुपर्ने आचारसंहिताबारे जानकारी गराएपछि आयोजक कमिटीका अध्यक्ष खेमराज पोखरेलले सांगठनिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने प्रचारप्रसार उपसमितिका सहसंयोजक रवि खनालले जानकारी दिए । उनका अनुसार प्रतिवेदनमाथि छलफल भएर पारित भएपछि आजै निर्वाचनको कार्यतालिका शुरु हुनेछ । ‘अध्यक्षको प्रतिवेदनमा छलफल भएर पास भएपछि निर्वाचनको प्रक्रिया आजै शुरु हुन्छ,’खनालले भने ।
सर्वसम्मत नेतृत्व चयनको कसरत
एमालेको सुनसरी जिल्लाको नेतृत्व सर्वसम्मत चयन गर्ने कसरत भइरहेको छ । नेतृत्व चयनकोबारेमा नेताहरुबीच विभिन्न कोणबाट छलफल भइरहे पनि सहमति जुट्न सकेको छैन ।
अध्यक्षको आकांक्षीमा ४ जनाको नाम चर्चामा भएपनि अध्यक्ष खेमराज पोखरेल दोहोरिन चाहन्छन् भने पुर्वअध्यक्ष रेवतीरमण भण्डारी पनि अध्यक्षका प्रमुख दाबेदार छन् । दुवै संस्थापनकै नेता हुन् । यस्तै, द्धारिकलाल चौधरी र रामप्रसाद चौलागाईको पनि चर्चा छ । तर, पोखरेल र भण्डारीमध्ये एक अध्यक्ष हुने नेताहरु बताउँछन् । प्रचारप्रसार उपसमितिका सहसंयोजक खनाल भन्छन्,‘नेतृत्वबारे विभिन्न कोणबाट छलफल भइरहेको छ, निष्कर्षमा पुग्ने गरि चै भएको छैन । सर्वसम्मत गर्ने प्रयास जारी छ ।’
एमाले कमिटी सदस्य भीम आचार्यको गृहजिल्ला पनि भएकोले उनी आफ्नो प्रभाव कायम राख्न चाहन्छन् । उनी आफु अनुकुलको नेतृत्व ल्याउने प्रयासमा छन् । एक नेताका अनुसार आचार्य रेवतीरमण भण्डारीलाई रोकेर पोखरेललाई अध्यक्ष बनाउन चाहन्छन् । भण्डारी आचार्यका कटु आलोचक हुन् । यसकारण पनि स्थायी कमिटी सदस्य आचार्य भण्डारीलाई अध्यक्ष हुन नदिन हरसम्भव प्रयासमा छन् । सर्वसम्मत नेतृत्व चयन नभए भण्डारी र पोखरेलबीचमा चुनाव हुने नेताहरु बताउँछन् ।