धरान:नेपाल कम्युनिष्ट पाटी (एमाले)को आज देशभर एकैसाथ जिल्ला कमिटीको अधिवेशन हुदैछ । सोही अनुसार सुनसरीको पनि ७ औं जिल्ला अधिवेशन आज इनरुवामा हुदैछ ।

अधिबेशनमा २ हजार प्रतिनिधि सहभागी हुने एमाले सुनसरीले जनाएको छ । जिल्ला सदरमुकाम इनरुवास्थित जेल फिल्ड (खेलमैदान)मा अधिवेशन हुदैछ । जिल्ला कमिटीको आगामी कार्यकालका लागि नेतृत्व निर्माण र राजनैतिक एवं सांगठनिक अवस्थाको बिचार, विमर्श र विश्लेषण गर्ने मुल आयोजक समितिका संयोजक खेमराज पोखरेलकोभ नाई छ । 

अधिवेशनमा एकतिहाई महिलाको प्रतिनिधित्व सुनिश्चित गर्दै समावेशिताको सिद्धान्त बमोजिम दलित, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारु, अल्पसंख्यक जातिहरूको समेत प्रतिनिधित्व गर्ने उनले बताएका छन । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र २ उप सचिव सहित १३५ सदस्य जिल्ला कमिटीको चयन गर्नेछ । 

को होलान् अध्यक्ष ?

एमाले सुनसरीमा अध्यक्षका ४ जना आकांक्षी देखिएका छन् । तर ती मध्ये पनि २ जना प्रमुख दाबेदार हुन् । 

सातौं जिल्ला अधिवेशन आयोजक कमिटीका अध्यक्ष खेमराज पोख्रेल पुनः अध्यक्ष हुन चाहन्छन् । एमालेको २ वटा कमिटीको विवाद समाधान गर्न उनलाई अधिवेशन आयोजक कमिटीको अध्यक्ष बनाइएको थियो । उनी एक पटक पुर्ण अध्यक्ष भएर नेतृत्व गर्न चाहन्छन् । संस्थापन पक्षका भनिएका पोख्रेललाई स्थायी कमिटी सदस्य भीम आचार्य पक्षको पनि समर्थन रहेको बताइएको छ । 

अर्का प्रमुख दाबेदार हुन्, पुर्वअध्यक्ष रेवतीरमण भण्डारी । उनी विगतमा एमाले जिल्ला अध्यक्ष भइसकेका थिए । यस्तै गत पुष ५ गते संसद विघटन पछिको घटनाक्रमले पुनः ओली पक्षले सुनसरीमा उनको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको थियो । दुई कमिटीको विवाद मिलाउने क्रममा उनलाई अध्यक्षबाट हटाइएको थियो । 

अर्का आकांक्षी इटहरीका मेयर द्धारिकलाल चौधरी पनि हुन् । उनी छैटौं जिल्ला अधिवेशनबाट अध्यक्ष बनेका थिए । स्थानीय तह निर्वाचनमा इटहरीको मेयरमा उठ्ने क्रममा उपाध्यक्ष रमेश बस्नेतलाई कार्यवाहक दिएका थिए । अहिले उनी पनि अध्यक्षका आकांक्षी छन् । 

यस्तै, अध्यक्षको आकांक्षीमा एमाले प्रदेश कमिटी सदस्य रामप्रसाद चौलागाईको पनि चर्चा छ । उनी ओली पक्षका पुराना नेता हुन् । अध्यक्षमा चार जना आकांक्षी देखिए पनि आयोजक कमिटी अध्यक्ष पोखरेल र पुर्वअध्यक्ष भण्डारी प्रमुख दाबेदार हुन् । 

कसरी व्यवस्थापन होला जम्बो आयोजक कमिटी ?

एमालेको आयोजक कमिटी ९ सय हाराहारीको छ । जेठ २ अघिको कमिटी र पुष ५ को राजनैतिक घटनाक्रम पछि गठन भएको ओली पक्षीय कमिटी समायोजन गरेर आयोजक कमिटी गठन गरिएको थियो । त्यसैले आयोजक कमिटी ९ सय हाराहारीमा पुगेको छ । 

अब विधान अनुसार १३५ जनाको मात्र जिल्ला कमिटी गठन हुनेछ । कमिटीमा चुनिएका बाहेकका सदस्यहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने प्रमुख चुनौती एमाले सुनसरीको हो । जिल्ला कमिटीमा नअटेका ठुलो संख्याका नेताहरु असन्तुष्ट रहने र उनीहरु पार्टी छोडेर आउने नेकपा एकीकृत समाजवादीलाई आशा छ ।

केही दिनअघि एमाले छोडेर नेकपा एस प्रवेश गरेका नेता धर्मराज निरौलाले सार्वजनिकरुपमा नै एमालेको जिल्ला र प्रदेश अधिवेशन पछि धेरै नेताहरु नेकपा एसमा आउने दाबी गरेका थिए । जिल्ला अधिवेशनबाट कमिटीमा नसमेटिने नेताहरुलाई रोक्नु एमाले सुनसरीको चुनौती हुनेछ । एकाध नेताहरु प्रदेश कमिटी र विभिन्न विभागहरुमा व्यवस्थापन भएपनि आयोजक कमिटीबाट बाहिरिने ठुलो संख्यालाई व्यवस्थापन सहज छैन ।