धरान: नेकपा माओवादी केन्द्र धरानको २ वटा वडा कमिटीका अध्यक्ष र पदाधिकारीहरु एमालेमा प्रवेश गरेका छन् । 

नेकपा एमालेको शनिबार धरानमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रको धरान वडा नं १२ र वडा नं १६ का अध्यक्षसहित पदाधिकारीहरु एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रममा वडा नं १६ का अध्यक्ष हिमाल कार्की, सचिव कैलाश लिम्बुसहित १ सय जना माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका हुन् । 

यस्तै, वडा नं १२ का अध्यक्ष खगेन्द्र लिम्बुको नेतृत्वमा पनि माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् । यसैगरि, पुर्वमाओवादी नेता एवं हाल एमाले प्रदेश कमिटी सदस्य पशुपति राई नुलामका अनुसार पुर्व बिग्रेड कमाण्डर सुर्य खड्का, माओवादी केन्द्रका नगर सदस्य राम राई पनि एमाले प्रवेश गरेका छन् । 

धरानमा शनिबार माओवादी केन्द्रबाट मात्र ४६७ जना प्रवेश गरेको एमालेको दाबी छ । नेकपाको निरन्तरताकोरुपमा एमालेमै रहेका पुर्वमाओवादीहरुको समेत संख्या जोड्दा ८४२ जना पुगेको एमाले प्रदेश कमिटी सदस्य मुरारी सुवेदीले जानकारी दिए । 

मुलबाटोमा फर्कियौ: कार्की

माओवादी केन्द्र परित्याग गरि पदाधिकारीहरुसहित एमाले प्रवेश गरेका हिमाल कार्कीले आफुहरु मुलबाटोमा फर्किएको बताए । संक्षिप्त सम्बोधन गर्दै कार्कीले जंगलमा बाख्रा हराएपछि सानातिना बाटोहरुमार्फत खोजी गर्न जादा नभेटिएको तर मुलबाटोमा हिडेपछि भेटिएको प्रसंग उल्लेख गर्दै देशको ठुलो पार्टी एमालेमा आउदा मुलबाटो भेटिएको बताए । उनले भने,‘आज हामी देशको ठुलो पार्टी एमालेमा, मुलबाटोमा फर्केका छौ, भोली वडा र नगर कमिटीबाट आउने क्रम जारी छ ।’

कार्कीले नेकपा एमालेले झिना मसिना पार्टीका देशभक्त कार्यकर्तालाई गोलवद्ध गर्दै विश्व कम्युनिष्ट केन्द्रकोरुपमा विकासित गर्ने उद्देश्यले सबै गोलबद्ध हुनुपर्ने पनि बताए । उनले वडा १६ बाट धेरै जना माओवादी केन्द्र त्यागेर एमालेमा आउन चाहे पनि छेक्ने काम गरेको खुलाउदै वडा नं १६ लाई कम्युनिष्ट लालकिल्लाकोरुपमा स्थापिन गर्ने बताए । उनले भने,‘वडा नं १६ लाई कम्युनिष्टको लालकिल्लाकोरुपमा स्थापित गर्यौ, गछौं ।’

cpn1

cpn