धरान: नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको कम्युनिष्ट आन्दोलनले पाएको जनादेशलाई माधव नेपालले कांग्रेसलाई बेचेको आरोप लगाएका छन् । 

नेकपा एमालेको शनिबार धरानमा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बेधन गर्दै महासचिव पोखरेलले यस्तो आरोप लगाएका हुन् । ‘माधव नेपालले कम्युनिष्ट आन्दोलनलाई प्राप्त जनमत, जनताले दिएको जनादेशलाई लगेर कांग्रेसलाई बिक्री गर्ने काम गरे । कांग्रेसविरुद्धको जनादेशलाई कांग्रेसको पाउमा सर्मपण गरे, जनताको जनादेशविरुद्ध उभिएपछि अब कसैले सहानुभुति गर्नुपर्छ भन्ने छैन,’उनले भने ।

महासचिव पोखरेलले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल कम्युनिष्ट पार्टीको नेता नभै कांग्रेसको मामुली कार्यकर्ता भएको पनि बताए । अब नेपालको राजनीतिक २ ध्रुवमा अघि बढ्ने भन्दै पोखरेलले एउटा ध्रुवको नेता एमाले र अर्को ध्रुवको नेता कांग्रेस मात्र हुने, अन्य राजनीतिक दल सहयोगी मात्र हुने पनि बताए । ‘एउटा शक्ति समाजवादको आधार तयार गर्दै समाजवादमा जान्छ, त्यो शक्ति एमाले हो । अर्को शक्ति उदार पुजीबादको बाटोबाट पुजीवादतर्फ जान्छ, त्यो शक्ति कांग्रेस हो । प्रचण्ड र माधव नेपाल हिडेको बाटो पुजीवादको बाटो हो । शेरबहादुर देउवालाई नेता मानेर नेतृत्वमा अघि बढ्दा समाजवादमा पुगिदैन,’पोखरेलले भने । 


महासचिव पोखरेलले सत्तारुढ गठबन्धनले स्थानीय तहको चुनाव नगरी जनप्रतिनिधिविहिन बनाएर लोकतन्त्रविरुद्ध अघि बढेको भन्दै यो षडयन्त्रलाई जनताको बीचमा गएर दण्डित गर्ने बताएका छन् । उनले निर्वाचन ऐनको आधारमा चैत ५ गतेभित्र स्थानीय तह निर्वाचन हुनुपर्ने भएपनि गठबन्धन सरकारले चुनाव टार्न अनेक तानाबुना गरिरहेको बताए । हिजो एमाले जनताको बीचमा जादा संविधान विरोधी, लोकतन्त्र विरोधी र प्रतिगमनकोरुपमा चित्रण गर्ने पार्टीहरु नै अहिले लोकतन्त्रविरुद्धमा, संघिय लोकतान्त्रिक गणतन्त्रकोविरुद्धमा उभिएर प्रतिगामी बाटोमा अघि बढेको उनले बताए  

‘यो गठबन्धन सरकारले स्थानीय तह खाली गर्ने, जनप्रतिनिधिविहिन बनाउने षडायन्त्रमा छ, त्यसलाई कुनै पनि हालतमा सफल हुन दिदैनौ, यो सरकारले जेठ ५ अगावै चुनाव गर्नको लागि हाम्रो पार्टीले बाध्य बनाउनेछ,’महासचिव पोखरेलले भने,‘हामीले जनताको पक्षमा, राष्ट्रको पक्षमा काम गदा वििलयो शक्ति निर्माण हुने आधार बनेपछि, लोकप्रिय बन्दै गएपछि डराएकाहरुले गठबन्धन गरेका हुन्, अदालतको सहारामा लोकप्रिय सरकार ढाल्ने काम गरेका हुन्, उनीहरुलको त्यो षडयन्त्रलाई जनताको बीचमा लगेर षडयन्त्र एक्सपोज गर्न चाहन्छौ, जनताबाट उनीहरुलाई दण्डित गर्न चाहन्छौ । जनादेशलाई खण्डित गर्ने नेपाली कांग्रेस लगायत राजनीतिक दलको प्रयासलाई जनतामा गएर तोड्न चाहन्छौ ।’ 

एमालेमा रहदा माधव नेपालले विधि, पद्दतीको कुरा गर्ने र एक पद एक व्यक्तिको कुरा उठाए पनि अहिले पार्टी टुक्राएपछि नेकपा एसमा आफै अध्यक्ष, आफै संसदीय दलको नेता बनेर हिजो केपी ओलीप्रति लगाएको आरोप निरर्थक भएको प्रमाणित गरेको पनि पोखरेलले बताए । माधव नेपाल संसदीय इतिहासमै सबैभन्दा बढी संसदीय ह्विप तोड्ने, पार्टीविरुद्ध राष्ट्रपति, अदालत र कांग्रेससँग साँठगाठ गर्ने काम गरेको पनि पोखरेलले आरोप लगाए ।