काठमाडौं: सरकारले तीन सातादेखि जारी लकडाउन पुनः एक साता बढाउने तयारी गरेको छ ।
कोरोना भाइरस(कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनको अवधि थप्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हुने बैठकले लकडाउन बढाउने निर्णय गर्ने बताइएको छ । कोरोना बारे आवश्यक कदम चाल्न एवं निर्णय लिन आज बिहान ११ बजे मन्त्रिपरिषद् बैठक बस्दैछ । नेपालमा चैत ११ गतेदेखि लकडाउन जारी छ । तेस्रो पटक थपेको लकडाउनको समय बुधबार सकिदैछ ।
पछिल्ला दुई दिनमा कोरोना संक्रमितको संख्या बढेर १४ जना पुगिसकेको छ । कोरोना संक्रमण फैलन नदिन लकडाउन नै एक मात्र अचुक उपाय भएकोले तीन सातादेखि जारी लकडाउन अझै एक साता थपिने सम्भावना छ । छिमेकी मुलुक भारतमा पनि संक्रमण र मृतकको संख्या बढ्दै गएकोले सरकार गम्भीर छ । प्रधानमन्त्री र मुख्यमन्त्रीहरुबीचको भिडियो कन्फ्रेन्समा पनि मुख्यमन्त्रीहरुले लकडाउन बढाउन सुझाव दिएका थिए ।