धरान: कोरोना भाइरस संक्रमण हुन नदिन आजदेखि देश लकडाउनको अवस्थामा छ । एक सातासम्म मानिसहरु घरभित्रै बस्नुपर्ने हुन्छ ।
यसको प्रभाव बजारहरुमा मात्र होइन, मठमन्दिरहरुमा पनि देखिएको छ । आजदेखि धरानको प्रमुख मठमन्दिरहरु पनि बन्द भएका छन् । बिशेष गरी धरानको विजयपुरस्थित बुढासुब्बा, दन्तकाली र पिण्डेश्वर मन्दिरमा भक्तजनहरुको घुँइचो हुने गर्छ । तर, धेरै भिडभाडले कोरोना संक्रमण हुने जोखिम भएकोले हिजो व्यवस्थापन समिति र पुजारीहरुसहितको बैठकले २१ गतेसम्म मन्दिरहरु भक्तजनहरुको लागि बन्द गर्ने निर्णय गरेका थिए ।
यो निर्णय आजदेखि कार्यान्वयन भएको पिण्डेश्वर बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले बताए । उनले भने,‘पिण्डेश्वरको मुल गेट र पसलहरु पनि बन्द छन् । एक दुई जना आएका थिए, तर बाहिरै श्राद्ध गरेर फकिए । सरस्वती सरोवर पनि बन्द नै छ ।’ दन्तकाली मन्दिरका पुजारी विश्वराज खनालले पनि आजदेखि मन्दिरमा कसैलाई पनि प्रवेश गर्न दिइएको छैन । केही व्यक्तिहरु दर्शन गर्न आएपनि भित्र छिर्न नपाएको उनले बताए । ‘विजयपुरको सबै मन्दिरहरु बन्द छन् । चारैतिरको गेट ताला लगाइएको छ,’पुजारी खनालले भने,‘पुजारीले बिहान र बेलुका नित्य पुजा गर्दा पनि गेट खोलिदैन ।’
अहिलेसम्म यस्तो भएको थिएन:खनाल
दन्तकाली मन्दिरका पुजारी विश्वराज खनालका अनुसार यसअघि अहिलेसम्म मन्दिर भक्तजनहरुको लागि बन्द गर्नुपर्ने अवस्था आएको थिएन । संकटकाल र १९ दिने जनआन्दोलनको बेला पनि मन्दिर खुला नै थियो । ‘चारैचिर गेट लागेको पहिलो चोटी हो, र यो हामी सबैको हितको लागि हो,’खनालले भने,‘धेरै जमघट, ओहोरदोहोरले रोगको संक्रमण खतरा भएकोले यस्तो निर्णय भएको हो ।’
वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भटराईले विजयपुर चोकमा हेल्थ डेस्क राखिएको र मन्दिर दर्शनमा आउने केही भक्तजनहरुलाई सम्झाएर घर फकाइएको बताए । भक्तजनहरुले पनि खुशीको साथ मन्दिरमा दर्शन नगरी फर्किएको उनले बताए ।