इटहरी: लक डाउनलाई व्यवस्थित गर्दै सरकारले गरेका निर्णयलाई प्रभावकारी ढंगले कार्यावन्यन गर्ने इटहरी उपमहानगरले निर्णय गरेको छ ।
नगरप्रमुख द्धारिकलाल चौधरीको अध्यक्षतामा सरोकारवालाहरुसँग भएको वैठकले संघीय सरकारले गरेका निर्णय प्रभावकारीढंगले कार्यावन्न गर्ने निर्णय गरेको हो । साथै, बजार अनुगमनलाई तिव्रता दिने पनि निर्णय भएको छ । जनप्रतिनिधि, प्रहरी प्रशासन, उद्योग वाणिज्य संघ र नागरिक समाजको सहभागितामा वैठक भएको हो । सरकारले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि आउँदो जेठ ५ गतेसम्म लकडाउनलाई कायम गरे पनि विकास निर्माणका काम खुला गर्ने निर्णय गरेको थियो ।
यातायात, बजार र शिक्षण संस्थाबाहेक धेरै उद्योगधन्दा र कलकारखाना खोल्न पाउने सरकारको निर्णय छ । लकडाउनका अवधिमा औषधि, स्वास्थ्य सामाग्रीजस्ता अतिआवश्यक वस्तुको उत्पादन तथा बिक्रीवितरण, खाद्य, कृषिजन्य, पशुजन्य उत्पादन तथा बिक्रीवितरण, औद्योगिक वस्तुको उत्पादन तथा बिक्रीवितरण गर्न भने दिने निर्णय भएको थियो । विकास निर्माण आयोजना सञ्चालनका लागि आवश्यक पर्ने ढुङ्गा, गिटी र बालुवालगायत निर्माण सामाग्रीको ढुवानी गर्न पाइने भएको छ । लकडाउन केही खुकुलो भएपनि सामाजिक दुरी कायम गर्ने, स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्ने कुरामा भने सजग रहन आग्रह गरिएको छ ।