इटहरी: इटहरी उपमहानगरले १० हजार विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकको लागि राहत वितरण गर्न वडाहरुमा खाद्य समाग्री पठाउन थालेको छ ।

आज मात्र वडा नम्वर १, २, ५, ९, १३, १४, १५, १६, १७ र १८ मा खाद्य समाग्री पठाइएको प्रमुख द्धारिकलाल चौधरीले बताए । सम्वन्धित वडा मार्फत वितरण गर्न वडाध्यक्षहरुलाई राहत समाग्री वुझाइएको हो । कोरोना लकडाउनका कारण इटहरीमा भोकमरीको अवस्था आउन नदिन एक हप्तालाई पुग्ने राहत वितरण थालिएको प्रमुख चौधरीले बताए । इटहरी उपमहानगरले प्रत्येक वडामा चार चार लाख वरावरको राहत वितरण गर्ने निर्णय अनुसार राहत वितरण थालिएको हो । वडाको सिफारिस अनुरुप विपन्न र दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नागरिकको लगत संकलन गरि राहत वितरण गरिने छ ।

यसैबिच इटहरी उपमहानगरले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि स्थापना गरेको प्रकोप ब्यवस्थापन कोषमा सहयोगका लागि आग्रह गरेको छ । नेपाल वैक इटहरीमा रहेको कोषको खाता नम्वर ०५९०३००००००००५००४०० मा रकम सहयोगका लागि इच्छुक ब्यक्ति तथा संघसस्थाहरुलाई उपमहानगरले आग्रह गरेको हो ।