झापाः प्रदेश १ सरकारका प्रवक्ता हिक्मत कार्कीले कोरोना कहरको समय भएपनि अहिले भारतसँग जोडिएको नेपालको सीमा व्यवस्थापन गर्ने यो उचित समय भएको बताएका छन् ।

सीमा व्यवस्थापनबारे चन्द्रगढीमामा भएको सरोकारवालासँगको छलफलमा आन्तरिक मामिला एवंम कानुन मन्त्रीसमेत रहेका कार्कीले समाजिक र सांस्कृतिक कारणले नेपाल भारतसँगको सम्बन्ध विशिष्ट किसिमको रहेपनि नेपालले आफ्नो भुमीको सुरक्षाका लागि विशेष पहल थाल्ने सु–अवसर कोरोना महाहारीकै बेला भएको तर्क गरे । ‘नेपालतर्फको सीमा व्यवस्थापन गर्ने यो नै उचित समय हो,’उनले भने,‘हामीले सीमालाई कडाइ गर्यौ भने अपराधिक गतिविधि त न्युनीकरण हुन्छन् नै, लुकिछिपि आउने भारतीय सामाग्रीसमेत आउन बन्द हुँदा त्यसको सकारात्मक असर भन्सारमा पर्छ । अन्ततः राज्यकोषमा आर्थिक जोहो बढ्छ ।’

नेपाली भुमिमा खेती गर्ने भारतीय नागरिकको कारण सीमा क्षेत्रमा जोखिम भएको भन्दै त्यसको व्यवस्थापनमा सरकार लाग्नुुपर्ने आवाज समेत उठेको छ । झापाको जिल्ला समन्वय समितिमा जिल्लाका सरोकारवालाहरु सम्मिलित टोलीले सीमाको अवलोकन गरेपश्चात सार्वजनिक गरिएको प्रतीवेदनले भारतीय नागरिक नेपालमा विपत्ति भित्र्याउन कारक हुनसक्ने भन्दै नेपाली भुमी भाडा लगाएर खेती गर्न दिन नहुुने आवाज उठेको छ ।

jhapa-sima

प्रदेश एकका सांसद वसन्त बाँनियाले भारतीय किसानकै कारण नेपालका किसानको उत्पादनले समेत बजार नपाएको भन्दै त्यसलाइ रोक्न आग्रह गरे । उनले किसानको नाममा अहिले सिमानामा जबरजस्ति घुस्ने र कोरोना जोखिम बढिरहेको भन्दै सरकारले उचित कदम चाल्नुुपर्ने बताए । प्रदेश एकको भारतसँग जोडिएको कुला ३ सय ४४ किलोमिटर क्षेत्रफलमध्ये झापामा मात्र १ सय ४४ किलोमिटर भुमि भारतसँग जोडिएको छ ।

नेपाली भुमिमा खेती गर्दा भारतीय किसानले सस्तोमा जग्गा भाडामा पाउने हुँदा नेपालीभुमि तर्फ भारतीय किसानहरु आकर्षित हुने र खेती किसानीको बहाना अन्य नागरिक सहज रुपमा नेपाल प्रवेश गरि अपराध कार्यमा सरिक हुने जोखिम बढेको धेरैको बुुझाइ छ । प्रदेश १ सरकारले सीमामा कडाइ गर्न थप ३ सय ५० अस्थाई पोस्ट बनाएको जानकारी दिएको छ । मन्त्री कार्कीले भने दुुई वर्ष भित्र प्रत्येक ७, ७ किलोमिटरमा स्थाई सुरक्षा पोस्ट बनाउने सरकारको तयारी रहेको जानकारी दिए । झापा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलको नेतृत्वमा रहेको टोलीले गत वैशाख १९, २२ र २३ गते भारतसँग सीमा जोडिएका स्थान र अस्थाई सुरक्षा पोष्टको अनुुगमन गरि प्रतिवेदन सार्वजनिक गरेको छ ।