धरान: हिजो शनिबार साँझ झापाको कचनकवल गाउँपालिका १ स्थित सीमानामा रहेको सशस्त्र प्रहरीको पोष्टमा आक्रमण भएको घटनाप्रति भारतीय पक्षले गल्ती स्वीकार गरेको छ ।
आज सीमावर्ती गाउँका सुरक्षा अधिकारी, जनप्रतिनिधिहरुसँगबीचको संयुक्त छलफलमा भारतीय पक्षले घटनामा गल्ती स्वीकार गरेको र संलग्नहरुलाई पहिचान गरेर कारबाही गर्ने प्रतिवद्धता जनाएको कचनकवल गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष लक्ष्मीनारायण यादवले जानकारी दिए । उनका अनुसार बैठकमा नेपाल पक्षले लकडाउनमा सीमा बन्द हुँदा एक जना पनि नेपालबाट भारत प्रवेश गर्न नदिएको तर भारतबाट हुलदंगा गर्ने गरी मानिसहरु नेपाल आएकोप्रति कुरा उठाएका थिए । ‘हाम्रो मान्छेहरु एक जना पनि गएको छैन, तपाईहरुको किन आयो ? भनेर भन्यौं,’उनले भने,‘उहाँहरुले हामीबाट गल्ती भएको रहेछ भनेर स्वीकार गर्नुभयो ।’
प्रवक्ता एवं वडाअध्यक्ष यादवका अनुसार घटनामा संलग्नहरुको पहिचान गरेर कारबाही गर्ने प्रतिवद्धता पनि भारतीय अधिकारीहरुले जनाएका छन् । केहीको पहिचान भइसकेको भारतीय पक्षको भनाई रहेको यादवले जानकारी दिए । उनका अनुसार गाउँपालिका अध्यक्ष, सशस्त्र प्रहरीका डिएसपीसहितको टोली छलफलमा बसेका थिए भने भारततर्फबाट एसएसबीका इन्स्पेक्टर, भारतीय पुलिस थानाका प्रमुख, गाउँका मुखियालगायतको टोली थिए । छलफल गाउँपालिका १ स्थित घेराबारी भन्ने झण्टु गाउँमा भएको थियो ।
हिजो राती करिब साढे ७ बजे सीमावर्ती भारतीय गाउँबाट करिब सय जनाको समुह जर्बजस्ती नेपाल छिरेर सशस्त्र पोष्टमा आक्रमण प्रयास गरेका थिए । उनीहरुले २ वटा कुर्सी भाँचिदिएका थिए भने एउटा साइकल पनि लिएर गएका थिए । भारतीयहरुलाई भगाउन सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायर पनि गर्नुपरेको थियो । भारतीयहरुले नेपाली जमिन ठेक्का लिएर वाली लगाउदै आएका छन् । भारतीयहरुले मकैवाली उठाउन पाउनुपर्ने र सीमा क्षेत्रमा गाइबस्तु बाँध्न पाउनुपर्ने माग राखेका छन् । तर, सीमा बन्द भएकोले नेपाली पक्षले सहमति दिएको छैन । यसअघि भएको छलफलमा २ जना मात्र मानिस आएर नेपालीहरुलाई नै प्रयोग गरेर मकै भाँचेर लैजान दिने सहमति भएको थियो ।