धरान: नेपाली भुमीमा लगाएको मकैवाली उठाउन नपाउदा भारतीयहरुले हिजो राती झापाको कचनकवल गाउँपालिका १ स्थित सीमानामा रहेको सशस्त्र प्रहरीको पोष्टमा आक्रमण गरेको खुलेको छ ।
करिब सय जनाको संख्यामा आएका भारतीयहरुले १ वटा कुर्सी भाँचिदिएका छन् भने एउटा साइकल पनि लिएर गएको कचनकवल गाउँपालिकाका प्रवक्ता तथा वडाअध्यक्ष लक्ष्मीनारायण यादवले जानकारी दिए । उनका अनुसार भारतीयहरुको भीडलाई हटाउन सशस्त्र प्रहरीले एक राउण्ड हवाई फायरसमेत गर्नुपरेको थियो । घटना कचनकवल १ घेराबारी भन्ने झण्टु गाउँको हो । ‘५० देखि सयजनाको बीचमा भारतीयहरु होहल्ला गर्दै आएका थिए, सशस्त्रको पोष्टमा आक्रमण प्रयास पनि गरे,’प्रवक्ता यादवले भने,‘हाम्रो जनताले पनि सशस्त्रलाई साथ दियो, र एक राउण्ड फायर पनि गर्नुपर्यो । उनीहरु भागेर गए ।’
यादवका अनुसार घटना राती करिब साढे ७ बजेको हो । भारतीय सीमावर्ती सुरिभिट्टा भन्ने गाउँका मानिसहरुले आक्रमण प्रयास गरेका हुन् । यादवका अनुसार भारतीयहरुले नेपाली भुमी ठेक्कामा लिएर खेती गर्ने गरेका छन् । अहिले मकै वाली लकडाउनको कारण उठाउन नपाएपछि भारतीयहरु असन्तुष्ट छन् । ‘भद्रपुर नगरपालिकाको सीमादेखि झापा गाउँपालिकाको सीमानासम्म भारतीयहरुले ठेक्का लिएर नेपाली भुमीमा खेती लगाएका छन्, अहिले लकडाउनको कारण वाली उठाउन पाइरहेका छैनन्,’गाउँपालिकाका प्रवक्ता यादवले भने ।
गाउँपालिकाका अनुसार भारतीयहरुको माग वाली उठाउन र बस्तु बाँध्न पाउँ भन्ने छ । यो मागको बारेमा यसअघि पनि भारतीय सीमा वल(एसएसबी)का अधिकारीहरुसहितको दुवै पक्षबीच छलफल गरेर सहमति भइसकेको थियो । अहिले लकडाउन भएकोले धेरै मानिसहरु नेपाल आउन नपाउने भएकोले वालीको लागि २ जना मात्र आउने र नेपालकै मानिसहरु प्रयोग गरेर मकै भाँच्न लगाएर लैजाने सहमति भएको थियो । तर, त्यो सहमति विपरीत हिजो राती भारतीयहरुले आक्रमण प्रयास गरेको हो ।
घटनाबारे दुवै देशका अधिकारीबीच छलफल हुने, संलग्नलाई कारबाही गर्न माग
हिजो रातीको घटनाबारे अहिले दुवै देशका अधिकारी तथा गाउँका अगुवाहरुबीचमा छलफलको तयारी भइरहेको छ । भारतीय एसएसबीका इन्स्पेक्टर, भारतीय सीमावर्ती गाउँका मुखियासहितको टोलीलाई छलफलको लागि बोलाइएको गाउँपालिका प्रवक्ता यादवले जानकारी दिए ।
उक्त छलफलमा नेपाल पक्षले हिजोको घटनामा संलग्नहरुलाई कारबाही हुनुपर्ने एकमात्र माग राखिने यादवले जानकारी दिए । ‘हिजोको घटनाबारे छलफल हुदैछ, त्यसमा हाम्रो माग भनेको जुन जुन मान्छे आएका थिए, तिनीहरुलाई कारबाही हुनुपर्छ भन्ने छ,’उनले भने ।