धरान: कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइहालेमा शव उठाउन तथा अन्त्येष्टीको लागि जोखिम व्यवस्थापन टोलीलाई आवश्यक प्रशिक्षण दिएर तयारी अवस्थामा राख्न नेपाल तरुण दलले माग गरेको छ ।

तरुण दल धरान उपमहानगर कमिटिले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, उपमहानगरपालिकका मेयर तिलक राईलाई ज्ञापन पत्र बुझाउदै आपतकालिन अवस्थाको लागि शव व्यवस्थापन गर्न पुर्वतयारीको माग गरेको हो । कमिटीका अध्यक्ष हिमाल श्रेष्ठका अनुसार आज धरानका मेयर तिलक राईलाई ज्ञापन पत्रमार्फत माग गरिएको छ भने मुख्यमन्त्री राईको समय अभावको कारण इमेलमार्फत ज्ञापन पत्र बुझाइएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि भोली बुधबार बिहान ज्ञापन पत्र बुझाइने उनले बताए ।

यसअघि मृतकको शव उठाउने मान्छे अभाव भएको भन्दै अध्यक्ष श्रेष्ठले धरान तथा प्रदेश १ मा पनि पुर्वतयारी गर्नुपर्ने बताए । ‘विरामी बोक्न पनि एम्बुलेन्सहरु मानेको थिएन, भोली मान्छेको मृत्यु नै भएको खण्डमा कसरी व्यवस्थापन गर्ने हो ?’श्रेष्ठले भने,‘त्यसैले आपतकालिन अवस्थाको लागि तुरुन्त जोखिम व्यवस्थापन टोलीलाई प्रशिक्षण गराएर तयारी अवस्थामा राख्न जरुरी देखिन्छ ।’ तरुण दलले स्वास्थ्यकर्मीहरुले क्वारेन्टाइनमा रहेका वा संक्रमित व्यक्तिहरुको उपचारमा खटिए जस्तरी नै जोखिम व्यवस्थापन टोली तथा एम्बुलेन्स चालकहरुलाई सुरक्षित तरिकाले प्रशिक्षण गराउन र सुरक्षाको आवश्यक सामग्रीहरु उपलब्ध गराउन पनि माग गरेको छ । ‘भोली आइपर्ने आपतकालिन परिस्थितिको सामाना गर्नलाई अहिले नै तयारी गर्नुपर्छ,’श्रेष्ठले भने ।tarun