धरान: कोरोना संक्रमित पुष्टि भएको व्यक्तिलाई अस्पताल तथा सम्बन्धित ठाउँसम्म लैजान धरानमा २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको छ ।

धरानकी संक्रमित महिलालाई अस्तपाल लैजान एम्बुलेन्स नपाउदा चौतर्फी आलोचना भएपछि आज बिहान एम्बुलेन्स चालक संघ र उपमहानगरपालिकाका मेयर, उपमेयरसहितको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले पहिलाको ४ वटा एम्बुलेन्सलाई कोरोना आशंका भएका व्यक्तिलाई मात्र बोक्ने गरि यथावत राख्ने र थप २ वटा डेडिकेटेड एम्बुलेन्स चौबिसै घण्टा रहने गरि व्यवस्था गर्ने निर्णय गरिएको उपमेयर मञ्जु भण्डारी सुवेदीले बताइन् । ‘पहिलाको ४ वटा त छदैछ, थप २ वटा डेडिकेटेड एम्बुलेन्स राख्ने निर्णय भयो,’उपमेयर भण्डारीले भनिन्,‘एउटा जिल्ला रेडक्रस सोसाइटीको हुन्छ, र अर्को निजी क्षेत्रको एउटा हुन्छ ।’

धरान १३ की कोरोना संक्रमित महिलालाई हिजो वीपी प्रतिष्ठान लैजान कुनै पनि एम्बुलेन्सले मानेनन् । त्यसैले उनलाई आज बिहान करिब १८ घण्टा पछि मात्र रेडक्रसको एउटा एम्बुलेन्सले अस्पताल लगेको थियो । यसअघि वीपीको एउटा, रेडक्रसको एउटा र निजी क्षेत्रको २ वटा गरी कुल ४ वटा एम्बुलेन्स तयारी अवस्थामा रहने निर्णय गरेको थियो । तर, ती एम्बुलेन्सहरु कोरोना संक्रमण आशंका गरिएका व्यक्तिलाई घरबाट अस्पताल र अस्पतालबाट घर वा क्वारेन्टाइनसम्म लैजाने गरि मात्र व्यवस्था गरिएको थियो ।

धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार अब भने २ वटा डेडिकेटेड एम्बुलेन्सले कोरोना संक्रमण पुष्टि भएको व्यक्तिलाई मात्र बोक्नेछ । ‘हिजोको पहिलो केस भएकोले के गर्ने भन्ने अन्योल थियो, त्यसैले आज बैठक बसेर संक्रमण पुष्टि भएकोलाई मात्र अस्पताल लैजाने गरि २ वटा डेडिकेटेड एम्बुलेन्सको व्यवस्था गरिएको छ,’मेहताले भने,‘पिपिईको व्यवस्था हामीले गरेका छौं । पहिलाको ४ वटा एम्बुलेन्स यथावत नै रहन्छ ।’