धरान: कोरोना संक्रमण पुष्टि भएको करिब १८ घण्टा पछि धरान १३ की संक्रमित महिलालाई अस्पताल लगिएको छ ।
उनलाई नेपाल रेडक्रस सोसाइटीको एम्बुलेन्समार्फत आज बिहान साढे १० बजे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको हो । उनलाई प्रतिष्ठानको आइसोलेसन वार्डमा राखिने भएको छ । रेडक्रस सोसाइटीको को १ च ९२२१ नम्बरको एम्बुलेन्सले उनलाई अस्पताल लगेको हो । उक्त एम्बुलेन्स चालक कल्याण श्रेष्ठ हुन् । उनले नै लगभग १८ घण्टा पछि संक्रमित महिलालाई अस्पताल लगेर गएको वडा नं १३ का अध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । यसअघि पनि रेडक्रसकै एम्बुलेन्सले ३ जना संक्रमित व्यक्तिलाई वीपीबाट विराटनगर लगेको थियो ।
हिजो करिब ५ बजेतिर ती महिलाको पिसिआर रिपोर्ट पोजेटिभ आएको सार्वजनिक भएको थियो । त्यसपछि, उनलाई राती ८ बजे एम्बुलेन्स लिन आउने बताइएको थियो । तर, कुनै पनि एम्बुलेन्स चालकहरु संक्रमित महिलालाई अस्पताल लैजान मानेनन् । धरानमा वीपी र रेडक्रसकोसहित ४ वटा एम्बुलेन्सहरु संक्रमण आशंका भएका व्यक्तिलाई क्वारेन्टाइनमा लैजान तयारी अवस्थामा राख्ने यसअघि निर्णय भएको थियो । ती एम्बुलेन्सहरुले पनि संक्रमित व्यक्तिहरुलाई बोक्न आनाकानी गर्ने गरेका छन् ।
संक्रमित बसेको क्षेत्र सिल गरेर सेनिटाइज गरिदै
वडा १३ का अध्यक्ष काफ्लेका अनुसार कोरोना संक्रमित महिलाको निवास भएको क्षेत्रलाई सिल गरिएको छ भने सेनिटाइज गर्ने तयारी पनि भइरहेको छ । उनका अनुसार शिवधारा चोक छहारी होटलदेखि उत्तर पुर्व हुदै कोशी राजमार्ग निस्कने सहायक बाटो सिल छ । त्यसक्षेत्रलाई केही बेरमा सेनिटाइज गरिनेछ ।
वीपीको एम्बुलेन्स तरकारी बोक्दै
कोरोना संक्रमित व्यक्ति बोक्न एम्बुलेन्सहरु मानेका छैनन् । जबकी धरानमा करिब ४ दर्जन बढी एम्बुलेन्सहरु चलेका छन् । वीपी प्रतिष्ठानकै पनि एम्बुलेन्स छ । तर, त्यो एम्बुलेन्सले पनि हिजो धरानकी संक्रमित महिलालाई बोक्न मानेन् ।
आज बिहान भने वीपी प्रतिष्ठानको को १ च ५२८३ नम्बरको एम्बुलेन्स विरामी बोक्न होइन, तरकारी बोक्न धरान १३ स्थित कृषि उपज बजारस्थलमा पुगेको थियो । ‘यहाँ संक्रमित विरामी बोक्न एम्बुलेन्स छैन, वीपीको चै एम्बुलेन्स तरकारी बोक्न कृषि बजारमा थियो,’वडा १३ का अध्यक्ष काफ्लेले भने ।