धरानः केन्द्रीय प्रविधि क्याम्पस हात्तिसार धरानमा तत्काल रियर टाइम पिसिआरसहितको सुविधा सम्पन्न प्रयोगशाला स्थापना गर्न विद्यार्थीहरुले माग गरेका छन् ।
धरान १४ स्थित क्याम्पसको अनेरास्ववियु तथा अखिल क्रान्तिकारी क्याम्पस कमिटीले प्रशासनलाई आज माग पत्र पेश गरेको हो । विद्यार्थी नेताहरुले क्याम्पसका निमित्त प्रमुख डा.दिलकुमार लिम्बुलाई माग पत्र पेश गरेका छन् । हाल कोभिड–१९ को महामारीले विश्वलाई आक्रान्त पारिरहेकोे समयमा अध्ययन तथा अनुसन्धान हुने क्याम्पसमा सुबिधा सम्पन्न प्रयोगशाला स्थापना गर्न आवश्यक भएको माग पत्रमा उल्लेख छ । कोरोना भाइरसको 229E , OC43, NL63 , HKU1, SARS-CoV, MERS-CoV , SARS-CoV-2 / COVID 19 सम्म आइ पुग्दा यसको बारेमा अध्ययन गर्न, निदान गर्न र यसमा हुने अन्य परिवर्तनहरुका बारेमा अध्ययन गर्न आधुनिक प्रयोगशालाको बिकल्प नरहेको माग पत्रमा उल्लेख छ ।
अनेरास्ववियु क्याम्पस कमिटि अध्यक्ष आशिष प्रधानले अध्ययनरत विद्यार्थीहरुलाई दक्ष बनाउदै भविष्यमा आइपर्ने अन्य समस्याहरुको वृहत अनुसन्धान तथा अध्ययन गर्नको लागि पनि आधुनिक प्रयोगशाला आवश्यक रहेको बताए । ‘प्रयोगशाला भएरमात्र पनि रोगको निदान गर्न तथा अध्ययन अनुसन्धान गर्न नसकिने तितो यथार्थ देशले अनुभव गरिसकेको छ, त्यसैले यहा“ अध्ययनरत बिद्यार्थीहरुलाइ दक्ष बनाउदै भविष्यमा आइपर्ने अन्य समस्यहरुको बृहत अध्ययन तथा अनुसन्धान गर्न समेत आधुनिक प्रयोगशाला आवश्वय छ’उनले भने । उनका अनुसार स्नातक माइक्रोबायोलोजी प्रथम बर्ष देखि नै पिसिआर तथा अन्य मोलिक्यूलर बायोलोजीका बारेमा अध्ययन हुन्छ । स्नात्तकोत्तरमा अझ वृहत रुपमा अध्ययन हुने भएकोले अब बिद्यार्थीहरुलाइ ब्यबहारिक ज्ञान प्रदान गर्दै दक्ष जनशिक्ति उत्पादन गर्न पनि आधुनिक प्रयोगशाला आवश्यक रहेको प्रधानले बताए ।