धरान: एन्फा एकेडेमीको क्वारेन्टाइन क्षमता कम भएपछि धरान उपमहानगरपालिकाले धरान १५ महादेव चोकस्थित नवज्योति स्कुलमा क्वारेन्टाइन बनाउनको लागि स्कुललाई आग्रह गर्यो ।

उपमहानगरपालिकाले स्कुल भवन क्वारेन्टाइनको लागि उपलब्ध गराउन पत्राचार गरेको थाह पाएपछि स्थानीय अभिभावकहरुले टोल विकास संस्था(टिएलओ)सहित बैठक बसेर स्कुलमा स्वारेन्टाइन राख्न नदिन निर्णय गरेको छ । सोही निर्णय अनुसार आइतबार स्थानीय एवं अभिभावकहरुलाई स्कुल प्रशासनलाई ज्ञापन पत्र पनि बुझाएका छन् । स्थानीय अभिभावकहरुले विद्यालयमा क्वारेन्टाइन बनाउन खोजेको भन्दै आपत्तिसमेत प्रकट गरेका छन् ।

अभिभावक स्वर्णिमहाङ फोम्बोले स्थानीयबासी र अभिभावकहरुको स्वास्थ्यको ख्याल गर्दै स्कुलमा क्वारेन्टाइन नराख्न आग्रह गर्दै स्कुल प्रशासनलाई ज्ञापन पत्र बुझाएको बताए । उनले नवज्योति स्कुलको विकल्पमा अर्को ठाउँ खोज्न आग्रह गरिएको बताए । ‘हामी अभिभावकहरु स्कुल कहिले खुल्छ भनेर पर्खिबसेका छौं, क्वारेन्टाइन राख्न दिदा स्थानीयबासी र अभिभावकसँग कुनै सरसल्लाह नै भएन,’उनले भने,‘कहिलेसम्म क्वारेन्टाइन राख्ने हो भन्ने प्रष्ट भएन । कोरोना भाइरसको आयु पनि कति हुन्छ भन्ने पनि छैन । सेनिटाइज गर्ने विधि पनि राम्रो छैन । त्यसैले यहाँको विकल्प खोजौं भनेको हो ।’

समुदायलाई सुरक्षित गर्नलाई हो: प्रसाई

जिल्ला जनस्वास्थ्य प्रमुख सागर प्रसाई भने क्वारेन्टाइन राख्दैमा कोरोना सर्छ भन्ने बुझाई गलत भएको बताउँछन् । उनका अनुसार विश्व स्वस्थ्य संगठनको प्रोटोकल अनुसार नेपाल सरकारले तयार गरेको प्रोटोकल छ । जस अुनसार संक्रमण भएको व्यक्तिसँग १ मिटर भित्र र १५ मिनेटसम्म बस्यो भनेमात्र सर्छ । ‘थोरै समय भेट्दा पनि सर्दैन भन्ने प्रोटोकलमा छ । विदेशबाट आउने मान्छेलाई राख्ने हो, उनीहरुलाई दुरीमा राखिन्छ । खाना अलगै हुन्छ,’प्रसाईले भने,‘क्वारेन्टाइनभित्रै त सर्देन भने बाहिर समुदायमा सर्छ भन्ने त हुदै हुदैन ।’

nawajyoti

उनले विदेशबाट आएका मानिस एकै पटक घरपरिवार वा समुदायमा जादा जोखिम हुने भएकोले सबैलाई सुरक्षित गर्न क्वारेन्टाइन व्यवस्था गरिएको हो । उनले सबैको सहयोग र साथ भएमा मात्र कोरोनालाई परास्त गर्न सकिने पनि बताए । ‘एट ठाउँमा होल्ड गरेर राख्न सक्यौं भने कोरोनालाई समाप्त गर्न सक्छों भन्ने उद्देश्य हो । डराउनुपर्ने आवश्यकता छैन । यो समुदायकै हितको लागि हो,’प्रसाईले भने,‘संसारमा मान्छे मर्दा डर हुनु स्वाभाविक नै हो । तर, त्यतिकै सर्ने होइन । मान्छेलाई परबाट हेर्ने, देख्ने बित्तिकै सर्दैन । यो हावाबाट सर्ने रोग पनि होइन । खोक्दा मुखको छिटाबाट सर्ने हो । एकले अर्कोलाई छोएको छ भने त्यही हातले नाक, मुख छुँदा सर्ने हो । त्यतिकै सामान्यरुपमा हुँदा सर्दैन ।’

क्वारेन्टाइन भन्दैमा आत्तिनु पदैन: मेहता

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले क्वारेन्टाइन भन्नुबित्तिकै मानिसहरुलाई पोजेटिभ राख्छन् भनेर सोचेर विरोध गरेको भएपनि त्यहाँ संक्रमित व्यक्ति नराखिने बताउँछन् । प्रभावित ठाउँको यात्राबाट आएका मानिसहरुलाई केही समय परिवार, समुदायबाट अलग गरेर राख्नको लागि मात्र क्वारेन्टाइन बनाइने उनले बताए ।

मेहताका अनुसार निश्चित अवधि बसेपछि पिसिआर परीक्षण गरेर संक्रमित होइन भन्ने पुष्टि भएपछि घर पठाइने गरिन्छ । ‘पोजेटिभ मान्छे राख्ने ठाउँ होइन । विदेशबाट आएकालाई राख्ने हो, र क्वारेन्टाइनमा अरु सामान्य मान्छे प्रवेश गर्न पाइदैन । हिडेर पनि कोही जादैनन्, एम्बुलेन्स प्रयोग हुन्छ,’मेहताले भने,‘अलिकति बुझाईमा कमजोरी भएको छ । कसैलाई पोजेटिभ हुदैमा सरि पनि हाल्दैन । त्यसैले त्रसित हुनुपर्दैन ।’ घरमा पनि क्वारेन्टाइनमा बस्न सक्ने भएपनि घरमा दुरी कायम हुदैन भनेर नै संस्थागत क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको र यसले समुदायलाई नै सुरक्षित गर्ने उनको भनाई छ ।

nawajyotiko