धरान : कोरोना संक्रमित भेटिएकी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्थो अब्जरभेसन वार्डसहित उनको उपचारमा संलग्न सबै स्वास्थ्यकर्मी र वार्डका विरामीहरुको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

गएको बिहिबार खुट्टा भाँचिएर उपचारको लागि भर्ना भएकी बराहक्षेत्रकी एक बालिकाको पिसिआर रिपोर्ट पोजेटिभ आएको थियो । अप्रेशन गर्नुअघि गरिएको परीक्षणमा उनको पोजेटिभ रिपोर्ट आएपछि शनिबार र आइतबार(हिजो) उपचारमा संलग्न स्वास्थ्यकर्मीसँगै वार्डका अन्य विरामीहरुको स्वाब संकलन गरिएको थियो । ती सबै स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको हाडजोर्नी विभागका प्रमुख डा.पशुपति चौधरीले जानकारी दिए । ‘रिपोर्ट सबैको नेगेटिभ नै आएको छ, यो खुशीको कुरा हो,’डा.चौधरीले भने,‘तरपनि हामी सावधानी अपनाउनुपर्छ, यहाँको विरामी क्लियर नभएसम्म नयाँ भर्ना लिदैनौं ।’

डा.चौधरीले यसअघि पनि डिस्इन्फेक्ट भइसकेकोले चिन्ता लिनु नपर्ने बताए । तर, सावधानी अपनाउनकै लागि नयाँ विरामी तत्काल भर्ना नलिइने उनको भनाई छ । अप्रेशन गरिसकेर सबै विरामीको व्यवस्थापन गरिसक्ने र मात्र भर्ना लिने विभागको निर्णय भएको उनको भनाई छ । प्रतिष्ठानका अनुसार स्वास्थ्यकर्मी, विरामी र सुरक्षा गार्डसहित ५९ जनाको पिसिआर जाँच गरिएको थियो । ती सबैको नेगेटिभ आएको हो । संक्रमित बच्चा शुरुमा पोडियाट्रिकमा उपचार गर्न गएका थिए । त्यहाँका स्वास्थ्यकर्मीसहित अर्थाे अब्जरभेसन वार्ड, एनेस्थेसियाका पनि स्वास्थ्यकर्मीहरुको स्वाब लिइएको थियो ।