विराटनगरः माेरङका १७ मध्ये १० पालिकामा लकडाउन गरिएकाे छ ।

लकडाउन हुनेमा विराटनगर महानगरपालिका, रंगेली, रतुवामाई, सुनबर्षी, सुन्दरहरैचा, पथरीशनिश्चरे, बेलबारी, उर्लाबारी नगरपालिका,धनपालथान र कानेपोखरी गाउँपालिकाले लकडाउन गरेका छन् । यता माेरङकै जहदा र कटहरी गाउँपालिकाले लकडाउनको घोषणा नगरे पनि कार्यालय र गाउँपालिका अन्तर्गतका वडा कार्यालय बन्द गरेका छन् । मोरङका ग्रामथान, मिक्लाजुङ, बुढीगंगा, केराबारी गाउँपालिका र लेटाङ नगरपालिकाले लकडाउन घोषणा गरेका छैनन् ।

संघीय सरकारले ११ चैतबाट सुरु लकडाउन ७ साउनबाट अन्त्य गरेको छ । ७ साउनमा मोरङमा कोरोना संक्रमितको संख्या २ सय ११ थियो । तर आइतबारसम्म संक्रमितको संख्या ५७१ पुगेको छ । संक्रमणका कारण ६ जनाले ज्यान गुमाइसकेका छन् । मोरङमा सबैभन्दा पहिले १६ साउनमा विराटनगर महानगरपालिकाले लकडाउन गरेको थियो । विराटनगरमा मात्र कोरोना संक्रमितको संख्या २८३ पुगेको छ । मेयर भिम पराजुलीले महानगरमा मास टेस्टकाे काम जारी भएकाे हुँदा नियन्त्रणकाे प्रयास जारी भएकाे बताए ।