धरान: करिब ३ बर्ष अघिसम्म धरान २० कालीमाटीका युवा युमेनहाङ राईको हातमा ब्रस हुन्थ्यो, र उनी क्यानभासमा रंगहरुसँग खेलिरहेका हुन्थे ।

धराने अन्य कलाकारहरुसँग बेला बेला डाँडाकाँडातिर डुल्न निस्कनु र प्रकृतिलाई क्यानभासमा उतार्नु उनको रुचि थियो । घरमा पनि रंग र ब्रससँग खेलिरहन्थे । हिजोआज भने युमेनहाङको दिनचर्या फेरिएको छ । उनी अचेल रंगसँग होइन, माटोसँग खेलिरहेका हुन्छन् । हातमा ब्रस र क्यानभास होइन, फूल वा विरुवा हुन्छ । अढाई बर्ष जति भयो, रंग खेलाउने ३६ बर्षे यी युवाको हातले फूल र विरुवा स्यहार्न थालेको । कलाकार युमेनहाङको परिचय अहिले एक नर्सरी व्यवसायी पनि भएको छ ।

भिडियो:

धरान १३ देवीगाउँस्थित चर्चित झोलुङ्गे पुल तरेर थोरै पश्चिम उत्तर उकालो लागेपछि पुगिन्छ कालीमाटी । यो बाटो हुदै चर्चित पर्यटकीय गन्तव्य चिण्डे डाँडा पुगिन्छ । चिण्डे डाँडा नपुगि तलै कालीमाटीको सियान्नु गाउँमा बाटोमै देखिन्छ, एभरेष्ट नर्सरी फार्म । त्यो फार्म कलाकार युमेनहाङ राईको हो ।
फार्म बाटोमै छ । अलिकति माथि उक्लिदा युमेनहाङको घर पुगिन्छ । घरमा पनि नर्सरी छ । घरको वरिपरि सबैतिर फुल, बोटविरुवाले ढाकेको छ ।

yumen9

घरभित्र केही पेन्टिङ छन् । ती पेन्टिङ युमेन आफैले क्यानभासमा उतारेका हुन् ।  घरभित्र विरुवा पनि राखेका छन् । बाहिर त झन् प्रत्येक पाइलामा फुल, विरुवा भेटिन्छ । सहजै अनुमान लगाउन सकिन्छ, हिजोआज युमेनहाङको हातले रंग, ब्रस होइन, माटो र विरुवा बढी खेलाइरहेको छ । उनको नर्सरीमा फुलका पारखीहरु पनि पुगिरहन्छन्, उनीहरुलाई फुल र विरुवाबारे बुझाउनु पर्ने समय पनि अचेल उनको दैनिकीमा थपिएको छ ।

युमेनहाङकी आमा हायमाया राईका अनुसार बच्चादेखि नै युमेन फुलसँग खेल्ने गरेका थिए । छोराको त्यही सपनाकै कारण अहिलको जमिन लिनुपरेको आमाको भनाई छ । 'उसको सपना थियो । ममी म फुल रोप्ने, भाडामा जमिन मागिदिनु भनेकोले नै यो जमिन लिनुपरेको हो,'आमाले भनिन्, 'सानैदेखि गमलातिर फुल रोप्ने गथ्र्यो ।'

'हात सकसकाईरहन्छ'

yumen5

करिब ८ कट्ठा जामिन छ । जसलाई युमेनहाङले नर्सरी मात्र होइन, विभिन्न बोटविरुवा रोपेर प्राकृतिकरुपमा सजाएका छन् । उनले नर्सरी शुरु गरेको अढाई बर्ष जति मात्र भयो । शुरुमा सोखकोरुपमा विरुवा संकलन गरेका उनले अहिले भने व्यवसायिकरुपमा नै नर्सरी शुरुवात गरेका छन् ।

नर्सरी व्यवसायमा लागेपनि उनी कलाकार हुन् । पेन्टिङ उनको मन मस्तिष्कमा गढेको छ । तर, लकडाउन यता उनले त्यति धेरै पेन्टिङ गरेका छैनन् । उनको हात भने सकसकाई रहन्छ । ‘लकडाउन यता कलर पनि सकियो । बीचमा सामान पनि पाएन, पहिलाको जस्तो पेन्टिङ गरेको छैन,’युमेनहाङ भन्छन्,‘तर साथीभाईहरुले पेन्टिङ गरेको देख्दा हात सकसकाई रहन्छ ।’

yumen-nur

माटो र विरुवासँग खेल्दा खेल्दै पेन्टिङ बिर्सने पो हो कि ? युमेनहाङलाई भने पेन्टिङ र नर्सरी दुवै उस्तै लाग्छ । पेन्टिङमा पनि कलरसँग खेल्ने हो । प्लान्टमा पनि कलर नै हुने उनी बताउँछन् । ‘दुवै उस्तै नै हो । पेन्टिङमा पनि कलर हुन्छ, प्लान्टमा पनि कलर नै हुन्छ । अहिले पनि रातो, हरियो, पहेलो कलरसँग नै खेलिरहेको छुँ,’उनले भने,‘दुवैमा रमाईरहेको छुँ ।’

उनलाई लाग्छ, कलाकारिताबाट बाँच्ने आधार बनिसकेको छैन । खर्च बढी हुन्छ, त्याग धेरै गर्नुपर्छ । साधक भएर साधनाकोरुपमा अघि बढाउन पनि नसकिरहेको उनको अनुभव छ । नर्सरी व्यवसाय राम्रो नै चलेको छ । व्यवसाय भनेपछि नाफा गर्ने हो । उनले भने धेरै महंगोमा र धेरै सस्तोमा पनि विरुवा बेचेका छैनन् । सबै मानिसले आफ्नो घरमा फुलबारी बनाओस् भन्ने उनको अभियान छ, त्यसैले ठिक्क मात्र मुल्य राखेका छन् । घरमा आमा र श्रीमति मालतीबाट उनले पुर्णरुपमा साथ पाएका छन् ।

होम स्टे र प्लान्ट म्युजियम बनाउने भावी योजना

yumen13

नेपालमा प्लान्टहरु सबै विदेशबाट आइरहेको छ । जसले गर्दा पैसा बिदेश गइरहेको छ । त्यस्ता प्लान्टहरु आफ्नै देशमा उत्पादन गर्ने र आन्मनिर्भर बनाउने उनको योजना छ । विदेशमा विरुवा सम्बन्धी अध्ययन गर्ने थाले बनेका हुन्छन् । नेपालमा भने छैन । युमेनहाङ भविष्यमा प्लान्ट म्युजियम बनाएर विरुवा अध्ययन गर्न सोख भएकाहरुलाई अध्ययन केन्द्र बनाउन चाहन्छन् । ‘विरुवाको बिशेषता जान्ने, विरुवालाई बुझ्ने, जान्ने ठाउँ छैन, त्यो बनाउन सकियो भने नयाँ काम हुन्छ जस्तो लाग्छ,’उनी भन्छन्,‘नयाँ खालको होम स्टे पनि शुरु गर्ने योजना छ, तर लगानीको कुरा आउछ । होम स्टे बनाउने, र प्लान्ट संकलन, उत्पादन केन्द्र बनाउने योजना छ ।’ भविष्यमा पेन्टिङ सोखकोरुपमा मात्र रहने पनि उनले बताए ।

yumen1 yumen2 yumen4 yumen6 yumen7 yumen11 yumen14 yumen8 yumen12