धरान: धरानका मेयर तिलक राईले सल्लाहकार र विज्ञ समिति गठन गरेका छन् ।
उपमहानगरपालिकाको कार्य सम्पादन नियमावली २०७४ मा व्यवस्था भए अनुसार मंसिर १२ गते नगर प्रमुखस्तरीय निर्णय गरेर सल्लाहकार र विज्ञ समिति गठन गरेका हुन् । मेयर राईले पदमा निवार्चित भएको करिब एक बर्ष पछि सल्लाहकार र विज्ञ समिति मनोनयन गरेका हुन् ।
मेयर राईले सल्लाहकार समितिमा ९ जनालाई मनोनयन गरेका छन् । जसमा धरान ८ का विनोदकुमार राई, धरान ११ का आनन्दप्रसाद आचार्य, धरान १० का हर्ष सुब्बा(पत्रकार), धरान १ की श्यामा रेग्मी, धरान १५ का उमेश थापा, धरान २ का अनिल श्रेष्ठ, धरान ९ का गोकुलप्रसाद श्रेष्ठ, धरान ९ का पित्रुमल अग्रवाल र धरान १५ की मानबहादुर रुम्दाली(कानुन व्यवसायी) रहेका छन् । सल्लाहकार समितिमा रहेका सबै कांग्रेस निकट छन् ।
यस्तै, विज्ञ समितिमा मेयर राईले १३ जनालाई मनोनयन गरेका छन् । समितिमा पुर्वमेयर मनोजकुमार मेन्याङ्वो, पुर्वनगरप्रमुख कुमारबहादुर कार्की, धरान १४ का सहप्राध्यापक डा.राजेन्द्र शर्मा, धरान १२ का उपप्राध्यापक राजविमल श्रेष्ठ, धरान १२ का प्रा.डा.बिक्रम श्रेष्ठ, सहप्रा.डा.अशोककुमार झा, धरान ८ का डा.अमृत राई रहेका छन् । डा.राई गएको उपनिर्वाचनमा मेयर पदका स्वतन्त्र उम्मेदवार थिए । यस्तै, अन्य सदस्यहरुमा धरान ९ का हिरा उदास, धरान १२ का कृष्णकुमार अग्रवाल, धरान ८ का सि.पि.दत्त, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटा, धरान १५ का सुजेन्द्र तामाङ र धरान सरोकार समाजका अध्यक्ष प्रभुप्रसाद श्रेष्ठ पनि विज्ञ समितिमा मनोनित भएका छन् ।