विराटनगर: प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले अपाङ्गता मैत्री प्रदेश निर्माणमा जोड दिईएको बताएका छन् ।

अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रमको माध्यमबाट अपाङ्गता मैत्री प्रदेश निर्माणमा प्रदेश सरकार अघि बढेको उनले बताए । २९ औं अन्र्तराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा आज शुभकामना सन्देश दिदै मन्त्री घिमिरेले १३७ वटै स्थानीय तहमा करुणा फाउण्डेसनसँगको सहकार्यमा अपाङ्गता पुर्नस्थापना तथा रोकथाम कार्यक्रम सञ्चालन गरिएको बताए । मन्त्री घिमिरेले सरकारको प्रतिबद्धतालाई साकार पार्न राष्ट्रिय अपाङ्ग महासंघ प्रदेश १ तथा प्रदेशमा रहेका सम्पूर्ण अपाङ्गता भएका व्यक्ति, निजी क्षेत्र, सरोकारवाला व्यक्ति लगायत संवन्ध पक्षलाई हातेमालोका लागि पनि आग्रह गरे ।

प्रदेश सरकार गठन भएको तीन बर्षको अवधिमा अपाङ्गताका विषयमा उदाहरणीय कार्य गरेको बताउदै उनले अहिले प्रदेश स्तरीय नीति तर्जुमाको तयारीमा रहेको बताए । सहयोगापेक्षी सडक आश्रित मानवहरुको उद्धार तथा पुर्नस्थापना, अपाङ्गता भएका व्यक्तिहरुका लागि सूचना, सहायता र परामर्श सेवाको संचालन, प्रदेश स्तरिय अपाङ्गता समन्वय समित गठन लगायतका कार्य गरिएको उनले बताए ।

अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चितताका लागि प्रयास जारी रहेको बताउनुहुँदै मन्त्री घिमिरेले भने,‘उहाँहरुका आवश्यकता र चाहना सवै पुरा गर्न सकिएको छैन ।’ अपाङ्गता अधिकार सम्बन्धी महासन्धी व्यवस्थाको कार्यन्वयन, अपाङ्गता अधिकार सम्वन्धि ऐन २०७४ मा उल्लेख भएका प्रावधान कार्यन्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनले बताए ।