इटहरी: कोरोना संक्रमण भएका सुनसरीका ७ जना पत्रकारहरुलाई विमा बापतको रकम हस्तान्तरण गरिएको छ ।
संक्रमण भएका पत्रकारहरु मध्ये ७ जनाको विमा वापतको रकम आएकोले वितरण गरिएको नेपाल प्रेस युनियन सुनसरीले जनाएको छ । युनियनले सुनसरीका दुई सय ६० जना पत्रकारहरुको निःशुल्क कोरोना विमा गरेको थियो । उनीहरुमध्ये ३२ जना पत्रकारहरु कोरोना संक्रमित भएको थियो । युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीका अनुसार सात जना पत्रकारहरुलाई विमा बापतको जनही एक लाख रकम उपलब्ध गराइएको छ । ‘दशैैँ अगाडि नै एकजना पत्रकारलाई एकलाख रुपैँया उपलब्ध गराईएको थियो,’ अधिकरीले भने, ‘आज ६ जना कोरोना पीडित पत्रकारहरुलाई जनही एकलाखका दरले रकम हस्तान्तरण गरियो ।’
उनले विमाको रकम राम्रो ठाउँमा सदुपयोग हुने आशा व्यक्त गरे । विमा रकम पाउन बाँकी रहेका अन्य २५ जनाको लागि पनि विमा कम्पनीसँग सहकार्य भईरहेको उनले बताए । पुषभित्रमा अन्य पत्रकारहरुको पनि रकम उपलब्ध हुने उनको दाबी छ । रकम हस्तान्तरण कार्यक्रममा युनियनका पूर्व अध्यक्ष कृष्ण अधिकारीले संगठनले गरेको कार्यको प्रशंसा गरे । उनले फुड बैँक सञ्चालन, पत्रकार बिरामी पर्दा अस्पतालमा छुट दिलाउने, कोरोना विमालगायतको कार्य ऐतिहासिक भएको बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ तेह्रथुमका पूर्व अध्यक्ष महेन्द्र काफ्लेले देशैभरीका अन्य संगठनहरुले सुनसरी शाखाले गरेको कामबाट सिक्न आवश्यक रहेको बताए । ‘यहाँ संगठनले जसरी काम गरेको छ, देशभरका अन्य शाखाहरुले अनुशरण गर्न आवश्यक छ,’उनले भने । विमा रकम पाएका धरानका पत्रकार केदार बस्नेतले युनियनको कार्य सह्रानीय भएको बताए । दुहवीका पत्रकार चन्दन रौनियारले आफूले कोरोना बापत पाएको एकलाख रुपैँयाले व्यवसाय सञ्चालन गर्न लागेको बताए । युनियनले यसअघि बिराटनगरको नोबेल हस्पिटलसँग पत्रकारहरुका लागि बिरामी भएको अवस्थामा कुल लागतको ५० प्रतिशत छुट गर्ने सम्झौता समेत गरिसेको छ । यसअघि कोरोना महामारीले मुलुक लकडाउनको अवस्थामा रहेका बेला फुड बैँक समेत सञ्चालन गरेको थियो ।