धरानः सरकारविरुद्धको नेपाली कांग्रेसको देशव्यापी विरोध प्रर्दशनको पुर्वसन्ध्यामा भातृसंगठन नेपाल विद्यार्थी संघले धरानमा सिट्ठी जुलुस निकालेको छ ।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारलाई दबाब दिनको लागि सोमबार देशव्यापी विरोध कार्यक्रम गर्दैछ । सोही विरोध कार्यक्रमको पुर्वसन्ध्यामा केन्द्रीय कमिटिको सर्कुलर अनुसार आज आइतबार धरानमा सिट्ठी जुलस निकालिएको नेवि संघका नेता दोर्ची शेर्पाले जानकारी दिए । ‘अहिलेको भ्रष्ट नेकपा सरकारविरुद्ध भोली देशव्यापी विरोध प्रर्दशन हुदैछ, त्यसैको पुर्वसन्ध्यामा केन्द्रीय सर्कुलर अनुसार धारनमा सिट्ठी जुलुस निकालेका हौं,’शेर्पाले भने ।धरानको छाताचोकदेखि शुरु भएको सिट्ठी जुलुस भानुचोकसम्म भएको थियो । जुलुसमा तरुण दलका स्थानीय नेता, कार्यकर्ताहरु पनि सहभागी थिए । उनीहरुले सिट्ठी फुक्दै, प्ले कार्ड प्रर्दशन गर्दै र सरकारविरुद्ध नारा लगाउदै जुलुस निकालेका थिए ।
भानुचोकस्थित कोणसभामा ४ वटा इकाई क्याम्पसका प्रतिनिधिहरुले सम्बोधन गरेको शेर्पाले जानकारी दिए । कोणसभामा महेन्द्र बहुमुखी क्याम्पसका कार्यवाहक सभापति तथा स्ववियु सचिवसमेत रहेका शेर्पासँगै इञ्जिनियरीङ क्याम्पसबाट इकाई सहसचिव सुजन खड्का, पिण्डेश्वर विद्यापिठका ईकाई सभापति सरोज अधिकारी, हात्तिसार क्याम्पसका इकाई सचिव रुपेश काटवालले पनि सम्बोधन गरेका थिए । नेविसंघ सुनसरीका उपाध्यक्ष नवराज ढुंगाना र तरुण दल धरानका उपाध्यक्ष नरसिंह राईले पनि संवोधन गरेका थिए ।
कोभिडले देश अस्तब्यस्त बनिरहदा पनि सरकार भने स्वास्थ्य सामग्रीदेखि विभिन्न भ्रष्टचारको काण्ड मच्चाइरहेको र लोकतन्त्रमाथि नै धावा बोलिरहेकोले विरोध प्रर्दशन गरिएको शेर्पाले बताए । ‘यो सरकार काण्डै काण्डमा मुछिएको छ, नालायक र भ्रष्ट सरकारको भत्सर्ना गर्न चाहन्छौं,’शेर्पाले भने,‘हाम्रो नेता रामचन्द्र पौडेलमाथि जुन किसिमले सांघातिक आक्रमण भएको छ, त्यो लोकतन्त्रविरुद्ध हो । यो सरकारको नालायकी हो । यि तमाम सरकारको विसंगतिविरुद्ध २९ गतेको विरोध कार्यक्रम हो ।’ सुनसरीमा इनरुवामा हुने विरोध प्रर्दशनमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की प्रमुख वक्ताकोरुपमा रहनेछन् ।