धरान: प्रदेश नं १ सरकारले निर्माण गर्ने ज्येष्ठ नागरिक ग्रामको आज शिलान्यास भएको छ ।
सामाजिक विकासमन्त्री जीवन घिमिरेले मोरङको ग्रामथान गाउँपालिकामा आज शिलान्यास गरेका हुन् । ग्रामथान गाउँपालिका वडा नं ६ र ७ मा ७२ वटा घरहरु निर्माण गर्ने सरकारको योजना हो । कुल ३ करोड ५० लाख लागत रहेको ग्राम १० बिगाह १४ कट्ठामा निर्माण हुनेछ । मानव आश्रम, ज्येष्ठ नागरिक ग्राम र बालबालिका ज्ञान केन्द्रकोरुपमा पनि विकास गर्ने योजना रहेको छ । ग्रामको शिलान्यस गर्दै मन्त्री घिमिरेले मानव सेवाआश्रम, जेष्ठ नागरिक ग्राम प्रदेशको गौरवशाली आयोजना भएको बताए । उनले यो परियोजनाबाट यस क्षेत्रका मुहार फेरिनुका साथै विकास निर्माणले गति लिने पनि दाबी गरे । सुकुम्वासीलाई उचित व्यवस्थापन गर्ने विश्वास पनि मन्त्री घिमिरेले दिलाए ।
मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सबैले बेसहारालाई सेवा गर्नुपर्नेमा जोड दिए । साथै उनले ग्राम निर्माण हुने स्थल समाजसेवासहित पर्यटकहरुको आकर्षणलाई ध्यान दिइ निर्माण गरिने बताए । आश्रमको विस्तृत निर्माण परियोजना निर्माणकर्ता इन्जिनियर एवं पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले ७० प्रतिशत रकम स्थानीय निर्माण सामाग्री तथा रोजगारलाई खर्च गर्न प्राथमिकता दिइएको बताइन् । साथै उनले थारु संस्कृति झल्कने गरी आश्रमको निर्माण गरिने पनि बताइन् ।
सामाजिक अभियन्ता रमेश प्रसाईले निर्माण हुने ग्राम सबैको भएको धारणा राख्दै पुण्य कार्यमा सबैको साथ र सहयोग गर्न आग्रह गरे । शिलन्यास समारोहमा सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर,उद्योग, पर्यटन, वन तथा वातावारण राज्यमन्त्री विजयकुमार विश्वास लगायतको उपस्थिति रहेको थियो ।