धरान: प्रदेशसभका सभामुख प्रदीपकुमार भण्डारीले कोरोना महामारीबाट संकटमा परेको अर्थतन्त्रलाई उकास्न कृषि क्षेत्रलाई विकास गर्नुपर्ने बताएका छन् ।

आज सोमबार धरान ७ पानवारीस्थित सेरा सेउती मुल कुलो सिचाई योजनाको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख भण्डारीले यस्तो धारणा व्यक्त गरेका हुन् । सभामुख भण्डारीले मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्ने कृषि क्षेत्र अझै पनि परम्परागत तथा निर्वाहमुखी शैलीबाट माथी उठ्न नसकेको कारण अपेक्षा अनुरुप उपलब्धिहरु प्राप्त गर्न नसकेको पनि बताए ।

सभामुख भण्डारीले कृषिको विकास र रुपान्तरण गर्दै उत्पादनमा वृद्धि गर्न आवश्यक रहेकोमा जोडदिए । अहिलेको अवस्थामा कृषि क्षेत्रको महत्व अझ वृद्धि हुदै गएको सभामुख भण्डारीले बताए । 'यस क्षेत्रको विकास र प्रविधीमा समेत रुपान्तरण गर्दै रोजगारीका अवसरहरु सृर्जना गर्न सकिनेछ,'सभामुख भण्डारीले भने,'अब बन्ने कुलोले पानवारीको कृषि क्षेत्रमा महत्वपूर्ण सहयोग गर्नेछ, र पानवारीको कृषि उत्पादन वृद्धि गर्न उल्लेखनिय भूमिका खेल्नेछ भन्ने विश्वास छ ।' सभामुख भण्डारीले स्रोत साधनलाई अधिकतम जनताको पक्षमा उपयोग गरेर विकास निर्माण कार्य भइरहेको पनि बताए ।