इटहरी: नेपाली कांग्रेस, इटहरीले महाधिवेशनको पुर्व तयारीमा जुटेको छ ।

इटहरी कांग्रेसले उपमहानगरपालिका भित्रका २० वटै वडाका क्रियाशील सदस्य नविकरण गर्ने कार्य ३ दिनभित्र सम्पन्न गर्ने गरी महाधिवेशनको तयारी शुरु गरेको हो । नगर सभापति हेमकर्ण पौडेलको अध्यक्षतामा भएको अगुवा नेता तथा कार्यकर्ताहरुको भेलाले बैठकले वडाले तीन दिनभित्र सदस्यता नविकरणको कार्य सम्पन्न गर्ने निर्णय गरेको जिल्ला अनुगमन प्रतिनिधि तथा सहसचिव नगेशचन्द्र राईले जानकारी दिए ।

सुनसरी जिल्ला कार्यसमितिले पौष ७ गतेभित्र सदस्यता नविकरणको कार्य सम्पन्न गर्ने निर्णय गरेबमोजिम सहजीकरण र अनुगमनका लागि प्रतिनिधि खटी आएको जिल्ला अनुगमन प्रतिनिधि तथा जिल्ला प्रवक्ता एवम् सचिव सुजेन्द्र गोले तामाङले उक्त भेलामा बताए । उनले पार्टी छाडी गएका, वाघी उम्मेदवार र उनको प्रस्तावक तथा समर्थक बसेका, पटकपटक आग्रह गर्दा पनि नविकरण गर्न इन्कार गर्ने बाहेक सबैको तोकिएको शूल्क लिई नविकरण गर्न आग्रह गरेका छन् । आगामी फागुनमा महाधिवेशन सम्पन्न गर्ने कार्यतालिका कोभिड १९ का कारण प्रभावित भएपनि फागुनमा स्थानीय तहसम्मको भएपनि अधिवेशन प्रारम्भ हुनसक्ने उनको भनाई छ । भेलामा उनले नेपाली कांग्रेस र तत्कालीन लोकतान्त्रिक फोरमका सदस्यहरुको नविकरण फाराम सट्टापट्टा नहुनेगरी अलग अलगै भर्न समेत प्रष्ट्याएका थिए ।

जिल्ला सचिव केदार भण्डारीले क्रियाशील सदस्यता सम्बन्धि कुनै गुनासो उजुरी नपर्ने गरी निर्विवाद ढंगले नविकरण गर्न र फाराम अपुग भएमा जिल्लाले थप फाराम उपलब्ध गराउने बताए । सभापति हेमकर्ण पौडेलले नविकरण शुल्क र तोकिएको लेवी सक्नेले अनिवार्य बुझाउन र पार्टी सञ्चालनमा सहयोगका साथै पार्टीप्रति माया लाग्ने गरी र अपनत्व महशुस हुनेगरी प्रत्येक क्रियाशील सदस्यले हरतरहको योगदान गर्न तथा आआफ्नो जिम्मेवारी वहन गर्न आग्रह गरे । भेलामा जिल्ला अनुगमन प्रतिनिधि, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला सदस्य, नगर, वडा र भातृसंघसंस्थाका अगुवा नेता कार्यकर्ताहरु सहभागी थिए ।