सुनसरी: सत्तारुढ दल नेकपाको विवाद चर्किदै गर्दा गुटको भेलाले तीब्रता पाइरहेको छ । सोही क्रममा शनिबार मदन भण्डारी फाउन्डेसनको ब्यानरमा सुनसरीको इनरुवामा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षको भेला भएको छ ।
जिल्ला भेला भनिए पनि ओली पक्षका नेता, कार्यकर्ताहरु मात्र सहभागी भएका थिए । केन्द्रमा सहमतिको लागि अध्यक्षद्धयबीच कसरत भइरहदा प्रदेश, जिल्ला तहमा भने दुवै गुटको भेला गर्ने क्रम जारी छ । गुटको भेला आयोजना भइरहदा नेकपा विभाजन हुने अडकलबाजी पनि भइरहेको छ । गत साताअघि मोरङको सुन्दरहरैचामा पनि ओली पक्षका युवाहरुको प्रदेशस्तरीय भेला आयोजना भएको थियो । तीन दिनअघि धरानमा पुष्पकमल दाहाल प्रचण्ड माधव नेपाल पक्षको युवाहरुको भेला थियो । उक्त भेलामा राष्ट्रिय युवा संघका केन्द्रीय अध्यक्ष दिपशिखासमेत आएका थिए ।
आज इनरुवमा भएको भेलाको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा प्रदेश १ अध्यक्ष देवराज घिमिरे रहेका थिए । भेलालाई प्रदेश सरकार कानुन तथा आन्तरिक मामिला मन्त्री हिक्मत कार्की, वन वातावरण, पर्यटन तथा उद्योग मन्त्री जगदिश प्रसाद कुसियैत, संविधानसभा सदस्य रेवतीरमण घिमिरे, फाउण्डेसनका प्रदेश अध्यक्ष गोपाल गुरागाईलगायतले पनि सम्बोधन गरेका थिए । भेलामा सहभागीहरुका अनुसार नेताहरुले पार्टी एकता जोगाउनुपर्ने धारणा राखेका थिए । ‘पार्टी एकता जोगाउनुपर्छ, एकताको पक्षमा नेताहरुलाई दबाब दिनुपर्छ भन्ने नै उहाँहरुको भनाई थियो, सरकारले गरेको राम्रो कामको प्रचारमा सबै लाग्नुपर्छ भन्नु भयो,’एक सहभागीले भने ।