धरान: प्रदेश नं १ को प्रादेशिक सञ्चार प्रतिष्ठानको कार्यकारी निर्देशकमा विराटनगरका अग्रज पत्रकार यज्ञप्रसाद शर्मालाई नियुक्त भएका छन् ।

आज सोमबार दिउँसो ४ बजे बसेको प्रदेश १ मन्त्रीपरिषद बैठकले पत्रकार शर्मालाई प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्ती गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले मन्त्रालयबाट प्रादेशिक सञ्चार प्रतिष्ठानको स्थापना र कार्यकारी निर्देशक नियुक्ती सम्बन्धमा गरेको प्रस्तावलाई बैठकले स्वीकृत गरेको जानकारी दिए । मन्त्री कार्कीले भने,'आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट प्रादेशिक सञ्चार प्रतिष्ठानको स्थापना र कार्यकारी निर्देशक नियुक्तीसम्बन्धमा प्रस्ताव आएको थियो । यसमा विराटनगर निवासी यज्ञप्रसाद शर्मालाई नियुक्ती गर्ने निर्णय गरियो ।'

सरकारले प्रतिष्ठानको कार्यकारी निर्देशनमा नियुक्तीको लागि आवेदनको सार्वजनिक आहवान गरेको थियो भने छनौटको लागि प्रदेशका प्रमुख सचिव दिनेश भट्टराई संयोजक रहेको एक छनौट समिति पनि गठन गरेको थियो । कार्यकारी निर्देशक पदको लागि शर्मासहित ४ जनाले आवेदन दिएका थिए । आवेदकहरुले छनौट समितिमा कार्ययोजनासहित प्रस्तुती दिएका थिए । ती मध्ये उत्कृष्ट प्रस्तुती दिएका शर्मालाई छनौट समितिले सिफारिश गरेको आधारमा सरकारले कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । 

बैठकले प्रदेश प्रशिक्षण केन्द्रको कोष सञ्चालनको बाधा अडकाउ फुकाउने निर्णय गरेको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्ताव अनुसार प्रदेशसभा सचिवालयको आर्थिक बर्ष २०७७, ०७८ को रोक्का बजेट फुकुवा गर्ने प्रस्ताव वमोजिम फुकुवा गर्ने निर्णय गरिएको पनि मन्त्री कार्कीले जानकारी दिए । यस्तै, भुमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले गरेको पहिलो प्रस्ताव कृषि व्यवसाय प्रर्वद्धन अनुदान पहिलो संशोधन कार्यविधि २०७७ लाई पनि बैठकले स्वीकृत गरेको मन्त्री कार्कीले जानकारी दिए भने कटहरी फलफुल तथा तरकारी थोक बजार पहिलो संशोधन नियमावली २०७७ लाई स्वीकृत गरेको उनले बताए । यस्तै, आर्थिक मामिला तथा योजना मन्त्रालयबाट ससर्त बजेट माग गर्ने सम्बन्धमा अर्थ मन्त्रालयले पठाएको ससर्त बजेट मागको प्रस्तावलाई स्वीकृत गरेर केन्द्रमा पठाउने निर्णय गरिएको पनि मन्त्री कार्कीले जानकारी दिए ।

भिडियो: