काठमाण्डौं: विभाजनको संघारमा रहेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति गठन गरेका छन् ।
आज बिहान बालुवाटारमा आफु निकट केन्द्रीय सदस्यहरुको बैठक राखेर ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति गठनको घोषणा गरेका हुन् । नेकपा केन्द्रीय समितिमा ४४६ जनाको रहेको छ । त्यसमा ५५६ जना नयाँ सदस्य थप्ने र १९७ जना पछि थप्ने गरि आयोजक समिति बनाउने बताइएको छ ।
आजै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षले पनि केन्द्रीय समिति बैठक बोलाएका छन् । उक्त बैठकबाट अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गर्ने र अध्यक्ष नेपाललाई बनाउने तयारी रहेको छ । यसअघि दाहाल र नेपाल पक्षको स्थायी कमिटि बैठकले ओलीलाई कारबाही गर्ने प्रस्ताव केन्द्रीय समितिमा लैजाने निर्णय गरेको थियो ।
आफु निकट केन्द्रीय सदस्यहरुको बैठकमा पधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले आफुले पार्टी नफुटाउने बताएका छन् । एक नेताका अनुसार उनले कसैलाई पनि कारबाही गरेर अघि नबढ्ने पनि प्रष्ट परेका छन् । ओलीले पार्टी एकतालाई अझ सुदृढ बनाएर महाधिवेशनबाट नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने आफ्नो चाहना रहेको पनि बताएको ती नेताले जानकारी दिए ।