धरान: सुनसरीका प्रमुख चार राजनीतिक दलहरुले आन्दोलनको क्रममा सडकमा आगो(टायर) नबाल्ने, तोडफोड नगर्ने र रेलिङ नभाँच्ने सहमति गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सुनसरीमा शुक्रबार सुरक्षा निकायका प्रमुखहरुसँगको सर्वदलीय बैठकमा राजनीतिक दलहरुले यस्तो लिखित सहमति गरेका हुन् । उक्त बैठकले कार्यक्रम सञ्चालन गर्दा सरकारी वा सार्वजनिक कार्यालयको सेवा प्रवाह अवरोध हुन नदिने गरि गर्ने पनि निर्णय गरेका छ । यस्तै, कुनै पनि लोकमार्ग वा सडकमा सवारी आवतजावतमा रोकावट हुन नदिने गरि र सुरक्षाकर्मीसँग मर्यादित किसिमले व्यवहार गर्ने गरि कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने पनि सहमति भएको छ ।
सुनसरीका प्रजिअ फडिन्द्रमणी पोखरेलको अध्यक्षतामा बसेको बैठकमा नेकपाका जिल्ला कार्यालय सचिव गोविन्द निरौला, कांग्रेसका जिल्ला सदस्य प्रमोद पोखरेल, जनता समाजवादी पार्टीका जिल्ला सदस्य महेन्द्र यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डम्बर घिमिरे सहभागी थिए । बैठकको निर्णय नं ६ मा सार्वजनिक सम्पत्ति सम्पुर्ण नेपाली जनताको सम्पत्ति भएकोले सडकमा टायर बाल्ने, तोडफोड गर्ने, रेलिङ भाँच्नेलगायत कृयाकलाप कसैले नगर्ने, नगराउने उल्लेख छ ।
प्रजिअ पोखरेलले प्रमुख राजनीतिक दलको जिल्ला कमिटीले पठाएको प्रतिनिधिहरुले हस्ताक्षर गरेको हुनाले निर्णय पालना गर्नुपर्ने बताए । ‘उहाँहरु पार्टीले पठाएको प्रतिनिधि हुनुुहुन्छ, निर्णयमा सहमति जनाएर नै हस्ताक्षर गर्नुभएको हो, त्यसैले पालना गर्नुपर्छ,’प्रजिअ पोखरेलले भने । राजनीतिक दलका प्रतिनिधिले बैठकमा यस्तो निर्णयमा हस्ताक्षर गरेपनि पुर्णरुपमा पालना हुनेमा शंका छ । राजनीतिक दलका आन्दोलनलगायतका कार्यक्रमहरु यातायात अवरोध हुने गरि सडकमा नै हुने गरेको छ ।
संसद विघटन पछि मुलुकको वर्तमान राजनीतिक परिस्थिति असामान्य बन्दै गएको र सत्तारुढ दल नेकपाको एउटा समुहसहित अन्य दलहरु आन्दोलनमा भएकोले यो निर्णय कार्यान्वयन हुन जटिल देखिन्छ । अहिले देशभरका सडकमा टायर बालेर आन्दोलन गर्ने, राँके जुलुस निकाल्नेलगायत गतिविधिहरु हुन थालेको छ । तर, प्रजिअ पोखरेल भने निर्णय दलहरुका प्रतिनिधिले नै गरेकोले पालना हुनेमा विश्वास व्यक्त गरे । ‘अहिल्यै आशंका नगरौं न, उहाँहरु आफैले निर्णय गरेकोले सकरात्मकरुपमा लिएर कार्यान्वयन हुने आशा गरौं,’प्रजिअ पोखरेलले भने ।
सोही बैठकले वर्तमन समयमा सबै राजनीतिक दलहरुले स्थानीय प्रशासनसँग समन्वय गरेर संयमताका साथ आआफ्ना कार्यक्रहरु सञ्चालन गर्ने निर्णय पनि गरेको छ । राजनीतिक दलहरुले घोषित कार्यक्रम सञ्चालन गर्नुपुर्व कार्यक्रम सञ्चालन गर्ने स्थान र समयबारे जिल्ला प्रशासन कार्यालयलाई जानकारी उपलब्ध गराउने पनि निर्णय छ । यसैगरि, एउटै स्थान र समयमा दुई दलको कार्यक्रम हुने अवस्था भए पहिला दाबी गर्नेले उक्त स्थान प्रयोग गर्न पाउने पनि निर्णय भएको छ । यस्तै, एउटा दलले अर्को दल वा समुहसँग मर्यादित व्यवहार दर्शाउने गरि कार्यक्रम सञ्चालन गर्ने व्यवस्था सबै राजनीनिक दल वा समुहले मिलाउने पनि निर्णय भएको छ ।