विराटनगर: राजिनामा दिएका प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्यमन्त्री जसमाया गजमेरको विदाई गरिएको छ ।

नेकपा विभाजनसँगै उत्पन्न राष्ट्रिय राजनीतिक घटनाक्रमको कारण दुवै जनाले मन्त्री पदबाट आज विहान राजीनामा दिएका थिए । उनीहरुलाई मन्त्रालयले विदाई कार्यक्रम गरेको हो । विदाई कार्यक्रममा मन्त्री घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संविधानको भावना विपरीत रहेको बताए । उनले अकल्पनिय र कलंकित घटनाको समर्थन एवं स्वीकार गर्न नसकिने बताए । मन्त्रालयमा २ बर्ष १० महिना रहेर उल्लेखनीय काम गरेको उनको भनाई थियो । जिल्ला जनस्वास्थ्य कार्यालयको बोर्ड हटाएर मन्त्रालय शुरु गरिएको स्मरण गर्दै घिमिरेले भने,‘अहिले मन्त्रालय जस्तो भएको छ ।’

राज्यमन्त्री जसमाया गजमेरले प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघठन गर्ने कार्यलाई उचित मान्न नसकेर राजीनामा दिएको बताइन् । प्रधानमन्त्री ओलीले जनमतको अवमूल्यन गरेको पनि गजमेरले बताइन् । मन्त्रालयका सचिव गोविन्द कार्कीले मन्त्री घिमिरेकोे कार्यको प्रशंसा गरे । कोरोना संक्रमणको उपचार तथा नियन्त्रण कार्यमा मन्त्री घिमिरेले अतुलनीय कार्य गरेको सचिव कार्कीले बताए । मन्त्री घिमिरेलाई मन्त्रालयका महाशाखा प्रमुख, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तथा मन्त्रालयका कर्मचारीहरुले विदाई गरेका थिए ।