धरान: संखुवासभामा प्रहरी र विप्लव समुहको कार्यकर्ताबीच गोली हानाहान भएको छ ।
चैनपुर ४ स्थित मैदाने भन्ने ठाउँमा विप्लव समुहले प्रहरी टोलीमाथि फायरिङ गरेको र प्रहरीले पनि जवाफी फायर गरेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यले जानकारी दिए । उनका अनुसार प्रहरी टोली विप्लव समुहको जिल्ला इञ्चार्ज उत्तर कुमार भन्ने युवराज राईलाई पक्राउ गर्ने उद्देश्यले मैदाने पुगेको थियो । यो घटना दिउँसो सवा ३ बजेतिर भएको पनि उनले बताए ।
मैदानेमा युवराज बसेको छ भन्ने सुचना पाएर नियमित गस्तीको क्रममा प्रहरी त्यहाँ पुगेको प्रजिअ आचार्यले बताए । प्रहरी पुगेको थाह पाएपछि विप्लव समुहले फायरिङ गरेको थियो । प्रहरीले पनि जवाफी फायर गरेको र विप्लवका कार्यकर्ताहरु जंगलतिर भागेको उनले बताए । ‘जिल्ला इञ्चार्ज मैदानेमा बसेको छ भनेर सुचना आएपछि प्रहरी गस्तीमा गएको थियो, प्रहरी पुगेपछि फायरिङ भयो, प्रहरीले पनि जवाफी कारबाही गरेपछि उनीहरु जंगलतिर भागेको भन्ने सुचना छ,’प्रजिअ आचार्यले भने ।
प्रजिअ आचार्यका अनुसार प्रहरीले केही विष्फोटक पदार्थ पनि वरामद गरेको छ तर के के छन् भनेर विस्तृत जानकारी नआइसकेको उनले बताए । विप्लव समुहका ३ जना जति कार्यकर्ताहरु मैदानेमा रहेको र भागेको उनले बताए ।