धरान: नेपाली कांग्रेसले संसद विघटनविरुद्ध देशव्यापीरुपमा विरोध सभा भएको छ ।
संसद विघटन गर्ने कदम असंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै कांग्रेसले देशभरका निर्वाचन क्षेत्रस्तरीय विरोध सभा गरेको हो । सोही वमोजिम आज धरानमा पनि नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं १ स्तरीय विरोध कार्यक्रम आयोजना गरेको थियो । धरानको छाताचोकस्थित पुरानो अस्पतालमा भेला भएर कांग्रेस नेता, कार्यकर्ताहरुले र्याली निकालेका थिए । र्याली भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
विरोधसभाका वक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर संवैधानिक कु गरेको आरोप लगाए । संसद विघटन असंवैधानिक कदम भएपनि वक्ताहरुले सर्वोच्च अदालतको फैसला कुर्ने र निर्वाचनमा होमिन पनि कांग्रेस तयार गरेको धारणा व्यक्त गरेका थिए । विघटित प्रतिनिधिसभाकी सदस्य एवं कांग्रेस नेतृ मीना सुब्बाले प्रधानमन्त्री ओलीको असंवैधानिक, अलोकतान्त्रिक कदम भएकोले कांग्रेस सडकमा आएको बताइन् । उनले जनताले ७ दशक संघर्ष गरेर ल्याएको संविधानमाथि कुठाराघात भएको धारणा राखिन् । साथै, उनले नेकपाको कुर्सी मोह, पैसा मोहको कारण र भागवण्डा नमिलेर नै संसद विघटन गरेको भन्दै विरोध जनाइन् ।
प्रदेश नं १ का पुर्व प्रदेश प्रमुख डा.गोविन्द सुब्बाले पनि नेकपाको ओली र प्रचण्डबीच लेनदेन, स्वार्थ नमिलेको कारण प्रतिनिधिसभा विघटन हुनपुगेको बताए । संसद विघटन असंवैधानिक कदम भएको भन्दै उनले नेकपा सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको पनि आरोप लगाए । कांग्रेसको जिल्ला सचिव सुजेन्द्र गोले तामाङले प्रधानमन्त्री ओलीले शुरुदेखि नै संविधान मिच्ने काम गरेको भन्दै संसद विघटनको घटना संवैधानिक कु भएकोले कांग्रेस जनताको साथमा सडकमा उत्रिएको बताए । प्रधानमन्त्री ओलीको कदम नसच्चिए जनता र कांग्रेसले ज्ञानेन्द्र शाहलाई दरबारबाट लखेटे झैं ओलीलाई पनि लखेट्ने बताए ।
सचिव तामाङले राष्ट्रपति भण्डारी प्रधानमन्त्री ओलीको कठपुतली भएको बतए । महिला राष्ट्रपति भनेर गर्व गरिए पनि अहिले आफ्नो गरिमा कायम गर्न नसकेको र विवेकविहिन औठा छापे मात्र भएको भन्दै उनले विरोध जनाए । अर्का वक्ता एवं कांग्रेस जिल्ला सदस्य राजिव लामाले कांग्रेस लोकतन्त्र रक्षा गर्ने पार्टी भएको कारण ओली सरकारले जनताको सर्वस्व हरण गरेको कारण सडकमा उत्रिएको बताए ।
चुनावमा पनि जाने
कांग्रेसको विरोधसभामा बोल्दै पुर्वप्रदेश प्रमुख डा.गोविन्द सुब्बाले संसद विघटनबारे सर्वोच्च अदालतको फैसला प्रतिक्षा गरेर चुनावमा जानुपर्ने अवस्था आए जनताको अभिमत लिन डराउन नहुने पनि बताए । सुब्बाले निर्वाचन नै सबै कुराको निकास हुने धारणा राखे ।
अहिलेको परिस्थितिमा राजवादीहरु, हिन्दुवादीहरु पनि सडकमा उत्रिरहेको धारणा राख्दै डा.सुब्बाले यो स्थितिमा सबैलाई चुनावले समेट्ने धारणा राखे । उनले भने,‘सबै चुनावमा गएर दुई तिहाई बहुमत ल्याएर संविधान संशोधन गर्नुस्, जनताको अभिमत लिन डराउने होइन । सडकमा टायर बाल्ने कुराले हिंसा भड्किन्छ, शान्ति खलबलिन्छ ।’
कांग्रेस जिल्ला सदस्य राजिव लामाले पनि चुनावमा जानुपर्ने अवस्था आए कांग्रेस तयार रहेको बताए । उनले सुनसरी जिल्लामा रहेको ४ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले झण्डा फहराउने पनि उद्घोष गरे । सर्वोच्च अदालतबाट संसद विघटन सदर नभए आन्दोलनबाटै पुर्नस्थापना गर्ने र सदर भए चुनावमा गएर जित हासिल गर्ने उनको भनाई थियो । कांग्रेस जिल्ला सचिव सुजेन्द्र तामाङले भने सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको संसद विघटनको कदमलाई सही ठहर्याए पनि कांग्रेसले त्यसविरुद्ध सडक आन्दोलन गरेर संसद पुर्नस्थापना गरिछोड्ने दाबी गरे ।