विराटनगर: नेकपामा विभाजन आएसँगै प्रदेश १ को सामाजिक विकास मन्त्रीबाट राजिनामा दिएका जीवन घिमिरेले आफ्ना कार्यकालको उपलब्धिहरु सार्वजनिक गरेका छन् ।

आज सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर पुर्वमन्त्री घिमिरेले २ बर्ष १० महिनाको अवधिमा गरिएको प्रगति सार्वजनिक गरेका हुन् । मन्त्रालयमा पदभार ग्रहण गर्दा १० बर्षभित्रमा झोला र किताव विस्थापित गरि डिजिटल सिकाई प्रणाली स्थापित गरिसक्ने लक्ष्यलाई पुरा गर्ने क्रममा १ हजार ३१६ बटा विद्यालयहरुमा सूचना प्रविधि प्रयोगशाला निर्माण गरि सूचना प्रविधिको पहुँच पु¥याएको उनले बताए । ई–एजुकेशन सञ्चालित १०० वटा विद्यालयमा स्मार्ट कक्षा निर्माण, आमा समूह र पूर्व विद्यार्थी समाज गठन र परिचालन गरी डिजिटल साक्षरता कार्यक्रम सञ्चालन गरिएको घिमिरेले बताए ।

प्रदेशमा दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले मनमोहन प्राविधिक विश्वविद्यालय स्थापना गरी संगठन संरचना र सो अनुरूपको नेतृत्व, प्रशासनिक जनशक्ति परिपूर्ति गर्ने तथा प्राविधिक विषयका स्नातक र स्नातकोत्तर तहका लागि आवश्यक पाठ्यक्रम निर्माण गर्ने काम भइरहेको घिमिरेले बताए । प्रदेशभर सञ्चालित प्रयोगशालाहरुको गुणस्तर नियन्त्रण तथा सञ्चालन अनुमति प्रदान गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशाला स्थापना गरिएको उनले बताए । यस्तै, याङ्गशिला, उदयपुर र विराटनगरमा सर्पदंश उपचार केन्द्र स्थापनाको साथै इटहरी, बेलका नगरपालिका, थलाहा ब्यारेक र चारआली ब्यारेकमा सर्पदंश उपचार केन्द्र स्थापना र स्तरोन्नति गरिएको उनले बताए ।

कोभिड नियन्त्रणका लागि थ्रिटिको नीति अबलम्वन गरि (टे«सिङ, टेष्टिङ र ट्रिटमेन्ट) को यथोचित प्रवन्ध गरिएको घिमिरेले बताए । महामारीबाट जनतालाई सुरक्षित राख्ने तथा संक्रमितहरुलाई उपचार गरी निको बनाउने कार्यमा उत्कृष्ट सेवा प्रवाह गरेको, छुट्टै कोभिड अस्पतालको अवधारणा ल्याई अक्सीजन, आइ.सि.यु. तथा भेन्टिलेटर सेवा सहित २ सय वेडको अस्पताल स्थापना र सञ्चालन गराएको उनले बताए । मोरङ्गको ग्रामथानमा ज्येष्ठ नागरिक ग्राम, मानवसेवा आश्रम र बाल ज्ञान केन्द्र निर्माणका लागि ११ बिघा जग्गा प्राप्त गरिएको र निर्माण प्रक्रिया अगाडि बढेको मानवसेवा आश्रमको भवन सिलन्यास गरी निर्माण शुरु गरिएको उनले बताए ।

सन् २०२५ सम्म प्रदेश नं.१ लाई बालविवाहमुक्त प्रदेश बनाउन “सानै छु अहिले बढ्नु छ मैले, बालविवाह होइन पढ्नु छ पहिले” प्रादेशिक नारा तय गरी बालविवाह सम्बन्धी प्रादेशिक नीति तर्जुमा गर्न समिति गठन गरिएको पनि उनले बताए । शहीद रंगशाला विराटनगरमा रात्रीकालीन समयमा पनि खेलकुद आयोजना गर्ने गरि फ्लडलाइट जडान सम्पन्न गरिएको पनि उनले बताए । पत्रकार सम्मेलनमा निवर्तमान मन्त्री घिमिरेले सामाजिक विकास मन्त्रालय अन्तर्गत समग्र क्षेत्रको मध्यावधि (गत असार मसान्त सम्मको) औसत वित्तीय प्रगति ७१.७७ र समग्र उपलव्धि ७१.८४ प्रतिशत रहेको बताए ।