सुनसरी: नेकपाका प्रचण्ड माधव समुहका स्थायी कमिटी सदस्य भीम आचार्यले प्रधानमन्न्त्री केपी ओलीले विस्तार गरेको केन्द्रीय कमिटीलाई भेडीगोठको संज्ञा दिएका छन् ।
संसद विघटनविरुद्ध आज देशैभर विरोध प्रर्दशन गर्ने क्रममा सुनसरीको इनरुवामा र्याली शुरु हुनुअघि सम्बोधन गर्दै नेता आचार्यले यस्तो भनाई राखेका हुन् । विराटनगरको विरोध कार्यक्रममा पनि सम्बोधन गर्न पुग्नुपर्ने भएकोले आचार्यले र्याली शुरु हुनुअघि नै सम्बोधन गरेका थिए । आचार्यले व्यक्तिको निहित स्वार्थको लागि संसद विघटन र सिंगो कम्युनिष्ट पार्टी विभाजनलाई कसैले पनि स्वीकार गर्न नसक्ने बताए ।
पार्टी विभाजन पछि मान्छे तान्ने नाममा १५ सयको भेडीगोठ केन्द्रीय कमिटी बनाएको उनको टिप्पणी थियो । प्रधानमन्त्री ओलीले ४४७ सदस्य रहेको केन्द्रीय कमिटीलाई ११ सय ९९ सदस्यीय विस्तार गरेका छन् । त्यसैप्रति टिप्पणी गर्दै आचार्यले भने,‘ मान्छे आकर्षित गर्न कसैलाई भोली प्रदेशमा भन्लान्, कसैलाई जिल्लामा भन्लान् । भेडीगोठहरु खडा गरेर त्यहाँ भेडा धपाउने मात्र हो । त्यो भेडिगोठलाई केपी ओलीले धपाउने मात्र हो, त्यहाँ केही अधिकार छैन ।’
पुर्वमन्त्रीसमेत रहेका आचार्यले १५ सयको मिटिङ कहाँ बस्छ ? कुन हल छ ? भन्ने प्रश्न पनि गरे । साथै उनले मिटिङ, छलफल, बहस र निर्णय केही पनि नहुने दाबी गरे । ‘केपी ओलीले यो गर भन्यो भनेर गुरुरु कुदेर गर्ने मात्र हो । पार्टी भित्रको लोकतन्त्र खै ? निर्णय प्रक्रिया खै ? त्यो भेडिगोठबाहेक केही पनि होइन,’आचार्यले भने,‘केही केही व्यक्तिलाई आकर्षित गर्न पनि सक्छन् । अहिले जमाना लोभपापको छ । तर राष्ट्रको नाममा, वामपन्थी आन्दोलनलाई विभाजित गरेर कसैले लोभपाप गर्नु राम्रो होइन । व्यक्तिको स्वार्थको लागि सिंगो कम्युनिष्ट आन्दोलन, पार्टीलाई विभाजन गर्न पाइदैन ।’
'सरकारको अलोकप्रियताले धरानमा उपनिर्वाचनमा हार्यौं'
ओली नेतृत्वको सरकारले गरेको भ्रष्टचार र अलोकप्रियताको कारण धरानमा मेयरको उपनिर्वाचनमा नेकपाको हार भएको पनि आचार्यले आरोप लगाए । ओली सरकारले वाइड बडी घोटला, ओम्नी प्रकरण, एनसेल घोटलालगायत एकपछि अर्को घोटाला र विवादित काम गरेर अलोकप्रियता कमाएको कारणले नै कम्युनिष्ट गढ भएपनि धरानमा चुनाव हार्नुपरेको आचार्यको भनाई थियो ।
‘सरकारले एकपछि अर्को विवादित काम गर्दै गयो । पार्टीसँग कुनै सरसल्लाह पनि नगर्ने, र राम्रो काम पनि नगर्ने । विवाद आउदा जवाफ दिन पनि नसक्ने । विधि, विधान, संविधान र पार्टी निर्णयको आधारमा चल्नुपर्यो भन्दा पनि म मान्दिन भन्ने,’आचार्यले भने,‘सरकार अलोप्रिय हुदै गयो । वामपन्थीहरुको गढ धरानमा, जहाँ धेरै मतले अघिल्लो चुनाव जितेका थियौं, त्यसपछि पार्टी एकीकरण भएको थियो । त्यस्तो अवस्थामा पनि सरकारको कामकारबाहीको कारणले धरान जस्तो ठाउँमा निर्वाचन हार्यौं ।’
'ओलीलाई घेराबन्दी होइन, सच्याउन खोजेको'
नेता आचार्यले ओली सरकार यसरी नै बढीरहे अबको २ बर्षपछि आउने निर्वाचनमा जनताको अघि मुख देखाउन आउन नसक्ने अवस्था बन्ने चिन्ता पार्टीलाई भएको बताए । ओलीलाई प्रधानमन्त्रीबाट हटाउने उद्देश्य नभएको जिकिर गर्दै आचार्यले पार्टीसँग समन्वय गरेर अघि बढ्न र जनताको माझमा राम्रो काम गर्न सुझाव दिदा पनि नमानेको बताए ।
‘पार्टीको कुरा सुनेन, तर एकलौटी चलाउदा पनि जनताको लागि राम्रो काम गरिदिए त २ बर्षपछि जनतामा जाउला र जितेर आउला भन्ने थियो, तर यही हिसाबले सरकार चल्ने हो भने जनताको अघि मुख देखाउन आउनसक्ने अवस्था थिएन,’आचार्यले भने,‘घेराबन्दी गरियो भन्ने प्रचार गरियो । त्यस्तो होइन, सरकारको हरेक निर्णय पारित हुनबाट पार्टीले रोकेको थिएन, सरकारलाई सहयोग गरिरहेकै थियो । ओली सच्चिएर जानुपर्छ भन्ने दुई तिहाई बढी मत थियो, अहिले पनि छ । प्रधानमन्त्री ५ बर्ष नै खाउ, तर पार्टीलाई समन्वय गरेर काम गर भन्दा मान्दिन भन्ने । पार्टीको केही मान्दिन भन्दा उहाँलाई सच्याउन खोजेको मात्र हो ।’
विरोध कार्यक्रमलाई नेकपाकी केन्द्रीय सदस्य रामकुमारी चौधरीले पनि सम्बोधन गरेकी थिइन् । उनले ओलीको कदम प्रतिगमनकारी भएकोले विरोध गरिएको बताइन् । साथै, ओलीले संघीयता र गणतन्त्रलाई पनि मास्न खोजेको भन्दै विरोध जनाइन् । यसैगरि, केन्द्रीय सदस्य महफुज अन्सारीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई प्रभावमा नपरी संसद विघटन र नेकपाको वैधानिकताबारे फैसला गर्न आग्रह गरे ।