धरान: सत्तारुढ दल नेकपा विभाजनसँगै शुरु भएको विवाद प्रदेश नं १ मा पनि चर्कदै गएको छ ।
मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला मन्त्रीलाई पदमुक्त गरेको भोलीपल्ट आइतबार अविश्वासको प्रस्ताव दर्ता भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली समुहका मुख्यमन्त्री राईविरुद्ध नेकपाकै प्रचण्ड माधव समुहका ३७ जना प्रदेश सांसदहरुले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका थिए । उक्त अविश्वासको प्रस्ताव दर्ता भएको भोलीपल्ट सोमबार नेकपाका संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले हस्ताक्षर गर्ने सांसदहरुलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न निर्देशन दिएका थिए ।
प्रमुख सचेतकले स्पष्टीकरण सोधेपछि आज(मंगलबार) पुनः नेकपाको संसदीय दलका उपनेता टंक आङबुहाङले मुख्यमन्त्री राईलाई संसदीय दलको नेताको हैसियतले कुनै पनि काम नगर्न सचेत गराएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उपनेता आङबुहाङले मुख्यमन्त्रीलाई पत्राचार मार्फत सचेत गराइसकेको पनि जानकारी दिए । नेकपाका ३७ जना बहुमत सांसदहरुले दलको नेताबाट हटाउन माग गर्दै संसदीय दलमा औपचारिकरुपमा अविश्वासको प्रस्ताव दर्ता भएको आङबुहाङले दाबी गरे ।