धरान: ४५ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अबसरमा नेपाली कांग्रेसले धरानमा विचार गोष्ठी कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली कांग्रेस क्षेत्र नं. १ (क) र (ख)ले धरानको दुई स्थानमा विचार गोष्ठी कार्यक्रमको आयोजना गरि राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाएको हो । नेपाली कांग्रेस क्षेत्र नं. १ (क) ले धरान १२ स्थित अमान बजारमा विचार गोष्ठी आयोजना गरेको थियो भने निर्वाचन क्षेत्र नं १ (ख)ले वडा नं. १८ को विमल स्मृति पुस्तकालयमा कार्यक्रम आयोजना गरेको थियो । वि.सं. २०३३ साल पुस १६ गते विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायत नेता निर्वासन जीवन त्यागेर भारतबाट स्वदेश फर्केको दिनको स्मरणमा कांग्रेसले हरेक वर्ष देशभर मेलमिलाप दिवस मनाउँदै आएको छ ।

कार्यक्रममा वक्ताहरुले वीपीको सोच, विचार, चिन्तन र दृष्टिकोणलाई आत्मसाथ गर्न सके मात्रै नेपाली कांग्रेस बलियो हुने बताएका छन् । वक्ताहरुले गुट उपगुट नभई अब नेपाली कांग्रेस एक ढिक्का भएर अघि बढ्न सके भने मात्र सफल हुने दाबी गरे । आज कै दिनबाट यसको अन्त्य गर्नुपर्नेमा उनीहरुले जोड दिए । २०१७ सालमा तत्कालीन राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको सरकारलाई बर्खास्त गर्दै निर्दलीय पञ्चायती ब्यवस्था शुरु गरेका थिए । त्यसपछि कोइरालासहितका नेतालाई ७ बर्ष जेल पठाइएको थियो ।

congress-melmilap1

२०२५ सालमा वीपीसहितका नेता भारत प्रवासमा गएका थिए । पछि, मेलमिलापको नीति बोकेर नेपाल आएका वीपीसहितका नेतालाई तत्कालीन पञ्चायत व्यवस्था र राजा समेतले पक्रेर काठमाडौंको सुन्दरीजल बन्दीगृहमा राखेको लगायतका बिषयमा विचार गोष्ठीमा वक्ताहरुले स्मरण गरेका थिए । प्रधानमन्त्री ओली सरकारले कोरोना नियन्त्रण तथा रोकथाम गर्नुको सट्टा प्रतिनिधिसभा विघटन गरेर लज्जास्पद काम गरेको वक्ताहरुले औल्याए ।

कार्यक्रममा विघटित प्रतिनिधिसभाकी सांसद एवं नेतृ मिना सुब्बा, प्रदेश नं १ का पुर्व प्रदेश प्रमुख डा.गोविन्द सुब्बा, धरान उपमहानगरका मेयर तिलक राई, नेपाली कांग्रेस सुनसरीका पूर्व संस्थापक सचिव गिरिराज आचार्य, वीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष डा.आनन्द आचार्य, नेपाली कांग्रेस सुनसरीका सचिव सुजेन्द्र गोले तामाङ, कांग्रेस क्षेत्र नं. १ (क) सभापति धनबहादुर कट्वाल, क्षेत्र नं. १ (ख) सभापति मुरारी भट्टराई लगायत कांग्रेसका विभिन्न भातृ संस्थाका नेताहरुले सम्बोधन गरेका थिए ।