धरान: नेकपा (प्रचण्ड-माधव) समुहको सुनसरी जिल्ला विस्तारित बैठक तथा भेला आज इटहरीमा भएको छ ।
उक्त भेलाले संसद विघटनविरुद्ध आन्दोलन गर्न आन्दोलन संघर्ष परिचालन समिति गठन गरेको छ । जिल्ला सचिव रमेश बस्नेतका अनुसार भेलाले केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज धर्मराज निरौला अध्यक्ष रहने गरि १ हजार ५ सय ९१ सदस्यीय आन्दोलन परिचालन समिति गठन गरेको छ । समितिले केन्द्रले घोषणा गरेअनुसारको आन्दोलनको कार्यक्रमहरु गर्ने उनले बताए । ‘केन्द्रले तोके अनुसारकै स्प्रिटसँग मिल्ने गरि आन्दोलनको कार्यक्रमहरु हुन्छ,’सचिव बस्नेतले भने ।
भेलालाई सम्बोधन गर्दै प्रचण्ड माधव समुहका स्थायी कमिटी सदस्य तथा प्रदेश १ इञ्चार्ज भीम आचार्यले संसद विघटन गरेर अहिलेसम्म प्राप्त उपलब्धी र लोकतन्त्र नै खतरामा परेकोले आन्दोलन गर्नुपरेको जिकिर गरे । साथै उनले वडा तहसम्म भेला गर्दै आन्दोलन गर्नुको औचित्य बुझाउन पनि निर्देशन दिए । नेता आचार्यले ओली समुहले एमाले एमाले एक हौं, जनताको बहुदलिय जनवाद पक्षधर एक हौं भन्दै गलत नारा दिएर तल्लो तहसम्म पुगेको भन्दै सचेत हुन पनि आह्वान गरे ।
‘एमाले एमाले एक हुने हो भने पार्टी एकता किन गर्या ? अब त सिंगो पार्टी एक हौं भनेर जानुपर्छ,’उनले भने,‘जनताको बहुदलिय जनवाद पक्षधर एक हौ भन्छन्, त्यसो भए हिजो एकता गर्दा त्यो किन छोड्या त ?’ उनले जनवादको सैद्धान्तिक पक्षबारे पनि प्रष्ट हुनुपर्ने बताए । ‘जबज भन्नुस्, जनताको जनवाद भन्नु, एक्काइसौं सताब्दीको जनवाद भन्नुस्, यो सबै पुजीवादी जनवादी क्रान्तिका कार्यक्रमहरु हुन्,’उनले भने,‘त्यसैले यताउता कतै नलाग्ने । अन्योल छ भने सम्झाउने साथीहरुलाई ।’
विगतमा मदन भण्डारी फाउण्डेसनको नाममा केन्द्रदेखि गाउँसम्म समानान्तर कमिटी बनाएर ओलीले गुटबन्दी गरेको बताए । सरकारको गलत कार्यशैलीले जनतामा अलोकप्रियता भएको र धरानजस्तो लालकिल्लामा पनि हार्नुपरेको उनले आरोप लगाए । ‘धरानमा किन चुनाव हारियो ? लालकिल्ला किन ढल्यो ? धरान जस्तो ठाउँ त हारियो भने अर्को चुनावमा के होला ?,’उनले भने,‘अर्थमन्त्रीले जनतालाई कर मात्र लगाएको छ । यही कारणले बैठक राखियो, सालिनताका साथ यो सरकारले करेक्सन गर्नुपर्यो भन्यौं । तर, नस्वीकार्ने । जनताले हाइ हाई गरिराखेको छ, अब २ तिहाई ल्याउछौं भन्ने ।’ जिल्ला भेलालाई इञ्चार्ज धर्मराज निरौला, नेतृ रामकुमारी चौधरी, महफुस अन्सारी, निर्मल बराल, किरण राईलगायतले पनि सम्बोधन गरेका थिए ।