धरान: संसद विघटनविरुद्ध संघर्षको कार्यक्रम परिचालनको लागि धरानमा नेकपाको प्रचण्ड-माधव समुहले आज विस्तारित बैठक बोलाएको छ ।
सुनसरी उद्योग वाणिज्य संघको हलमा हुने बैठकमा उपमहानगर कमिटिसँगै धरानमा भएका जिल्ला, प्रदेश र केन्द्रीय सदस्य, जनप्रतिनिधहरु पनि सहभागी हुने बताइएको छ । संसद विघटन पछि धरानमा पहिलो पटक प्रचण्ड-माधव समुहको औपचारिकरुपमा बैठक बस्न लागेको हो । यसअघि सडक आन्दोलन भइरहदा पनि प्रचण्ड समुहका स्थानीय नेता, कार्यकर्ताहरु मात्र सडकमा उत्रिएका थिए । माधव नेपाल पक्षका नेता, कार्यकर्ताहरु खुलेर आन्दोलनमा उत्रिएका थिएनन् ।
नेकपाका अध्यक्ष नारायण सुवेदीका अनुसार आजको बैठकले संसद विघटनविरुद्ध संघर्ष समिति गठन गर्नेछ । बैठकमा केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज धर्मराज निरौलाले सम्बोधन गर्ने पनि उनले बताए । 'संसद पुर्नस्थापनाको लागि दबाब सृर्जनाको लागि संघर्ष समिति बनाउनेछौं । आन्दोलन कार्यक्रम लिएर जाने भएकोले नगरको प्रदेशका पनि नेताहरु हुन्छन्, जिल्लाका पनि हुन्छन्,'उनले भने ।
केन्द्रमा प्रचण्ड माधव समुहले दोस्रो चरणको संघर्षको कार्यक्रमहरु तय गरेसँगै इटहरीमा पनि प्रचण्ड माधव समुहको सुनसरी जिल्ला भेलाले आन्दोलन परिचालन समिति गठन गरेको थियो । उक्त कार्यक्रममा उक्त समुहका स्थायी कमिटि सदस्य तथा प्रदेश इञ्चार्ज भीम आचार्यले सबैलाई आन्दोलन गर्न निर्देशन दिएपछि धरानमा पनि बैठक बस्ने तयारी भएको हो । धरानको नेकपामा प्रचण्ड माधव समुहको पकड छ ।