धरान: नेकपाकी केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला सहइञ्चार्ज भगवती चौधरीले बहुमत प्रधानमन्त्रीलाई आफ्नै पार्टीका नेताहरुले काम गर्न नदिए पछि ताजा जनादेशमा जानुपरेको बताएकी छिन् ।

अनेमसंघ धरानको आज वृहत भेलालाई सम्बोधन गर्दै नेतृ चौधरीले यस्तो बताएकी हुन् । उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राम्रा कामहरुको प्रचार नगरि प्रचण्ड नेपाल समुहले उल्टै अनेक आरोप लगाउदै खुल्याउने काम गरेको बताइन् । प्रधानमन्त्री ओलीले बाध्य भएर संसद विघटन गर्दै ताजा जनादेशमा जाने निर्णय गरेको उनको जिकिर थियो । ‘बहुमतको सरकार छ, तर आफ्नै पार्टीबाट कामै गर्न नदिएपछि प्रधानमन्त्रीले ताजा जनादेशमा जाने निर्णय गर्नुभएको हो,’नेतृ चौधरीले भनिन् ।

nekapa6

आफ्नै पार्टीको सरकारलाई खुल्याउने मात्र नभै प्रथम अध्यक्ष प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने कामसमेत गरेको बताइन् । ‘आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री हुनुहुन्छ, संसदीय दलको नेता हुनुहुन्छ, तर उहाँलाई पनि थाहै नदिई अविश्वासको प्रस्ताव ल्याउने ? त्यो भन्दा अशोभनीय के होला ? आफ्नै प्रधानमन्त्रीलाई गलहत्याउन खोज्ने ?’उनले भनिन् । प्रचण्ड नेपाल समुहले सडक आन्दोलनको नाममा राष्ट्रपतिविरुद्ध निकृष्ट नारा लगाएको भन्दै विरोध जनाइन् ।

भेलालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य विजय राईले संविधान र लोकतन्त्रको रक्षाको लागि चुनाव भन्दा अर्को विकल्प नभएको बताए । उनले प्राप्त उपलब्धीहरुको रक्षाको लागि चुनाव अपरिहार्य रहेको पनि बताए । ‘संविधानको रक्षा गर्नु, लोकतन्त्रको रक्षा गर्नु प्राप्त उपलब्धीहरुको रक्षाको लागि चुनाव भन्दा अर्को विकल्प छैन,’नेता राईले भने,‘नयाँ जनादेशमा जान्छु भन्नु लोकतन्त्रिक अभ्यास हो ।’

nekapa1

नेता राईले चुनावमा जान कोही पनि नडराउन आग्रह गरे । नेपालको समृद्धिको लागि ओली नेतृत्वको नेकपामा सहभागी बन्न आग्रह गदै कुनै पनि बहानामा बाटो नविराउन अपिल समेत गरे । ‘समृद्ध चाहने हो भने पार्टी अध्यक्ष कमरेड प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टीमा आउनुस्’ उनले भने ‘कुनै बहानामा बाटो नविराउँनुस् म भन्न चाहन्छु ।’

अर्का, केन्द्रीय सदस्य मुरारी सुबेदीले पनि आफ्नै पार्टीको प्रधानमन्त्री विरुद्ध चौतर्फी घेराबन्दी गरेर सरकार सञ्चालनमा अबरोध प¥याएकोले बाध्य भएर संसद विघटन गर्नुपरेको दाबी गरे । ‘आफ्नै प्रधानमन्त्रीलाई चौतर्फी घराबन्दी गरेर काम गर्न दिइएन । त्यसैले रहरले नभई बाध्य भएर संसद विघटन गर्नुपरेको हो,’नेता सुबेदीले भने,‘प्रधानमन्त्री कुशल नेतृत्व भएकोले सिधै त्रिशुली नदीमा झर्ने गाडीलाई थोरै घाइते होस् भनेर भित्तामा ठोक्काएर जोगाएको हो ।’

nekapa2

उनले उपनिर्वाचनमा उपमहानगरको नेतृत्वले गरेको राम्रो कार्यलाई जनतासामु पु¥याउन पार्टीले रोक लगाउँदा पराजय भोग्नु परेको आरोप लगाए । ‘उपनिर्वाचनमा जाँदा हामीले १३–१४ वटा राम्रो कामको लिष्ट बनाएका थिँयौं, यो जनतामाझ पु¥याउनु पर्छ भनेर तर, व्याक्ति (उपमेयर)लाई जस जान्छ भनेर जनतामाझ प्रचार गर्नमा निर्वाचन परिचालन कमिटिले नै रोक लगायो । प्रेसमा पुगेर छाप्न दिनुभएन, त्यसको परिणाम उपनिर्वाचनमा हार्नुपर्यो’ नेता सुबेदीले भने ‘पछि समिक्षामा सार्थीहरुले यत्रो धेरै काम भएको रैछ किन जनतामाझ पु¥याउनु भएन भन्नुभयो ।’

धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले पार्टी एकता पछि धरानमा नेतृत्वले पार्टी सम्हाल्न नसकेको र कार्यकर्ताहरुलाई उचित जिम्मेवारी दिएर समेट्न नसकेको बताइन् । उनले प्रश्न गर्दै भनिन्,‘अहिले पार्टी कहाँ छ ? युवाहरु कहाँ छन् ? अनेमसंघ कहाँ छ ? कुपी बालेर खोज्नु पर्ने अवस्था आएको छ । अब पार्टी कसरी चलाउने ? नेतृत्व कसरी गर्ने भनेर हामी देखाउछौं ।’ उपमेयर भण्डारीले आफुलाई पार्टीले असहयोग गर्दै वद्नाम गर्ने काम गरेको बताइन् । सोही कारणले उपचुनावमा हार भएको उनको भनाई थियो । भेलालाई नेकपा केन्द्रीय सदस्य एवं उपमेयर लक्ष्मी गौतम, अनेम संघ केन्द्रीय सदस्य अमृता सुब्बा, भुमिहिन सुकुम्बासी संघ, १ नम्बर प्रदेश कमिटी अध्यक्ष नरेन्द्र राईले पनि सम्बोधन गरेका थिए ।