धरान: संसद विघटनको विरुद्धमा जनता समाजवादी पार्टी (जसपा)ले दोस्रो चरणको कार्यक्रम अन्तर्गत धरानमा प्रदर्शन सभा गर्ने भएको छ ।
जसपाले मंगलबार धरानमा पत्रकार सम्मेलन गर्दै आगामी माघ ३ गते भानुचोकमा विरोधसभा गर्ने जानकारी दिएको हो । संसद विघटन असवैधानिक र प्रतिगमनकारी कदम भएको ठहर गदै सडक आन्दोलनमा रहेको जसपाले माघ ३ गते धरानसहित देशको विभिन्न पाँच शहरमा विरोधसभा गर्ने तयारी भइरहेको केन्द्रीय सदस्य तथा प्रचारप्रसार समिति संयोजक सुनिता मरिक डोमले जानकारी दिइन् ।
विरोध सभालाई पार्टीका बरिष्ठ नेता अशोक राईसहित केन्द्रीय कार्यकारिणी सदस्यहरु पर्शुराम खापुङ, युवराज कार्की, रकम चेम्जोङ, पर्शुराम बस्नेतलगायतका नेताहरुले सम्बोधन गर्ने पनि उनले जानकारी दिइन् । विरोधसभा कार्यक्रममा पब्लिक माविको खेल मैदानबाट विरोध ¥याली समेत निकालिने भएको छ । संघीयता, समानुपातिक, धर्मनिरपेक्षता, समावेशीकरण जस्ता व्यवस्थाहरु नै धरापमा पारेको कारण यसको रक्षाको लागि आन्दोलनको विकल्प नभएको जसपाको भनाई छ । जसपाले पहिलो चरणमा देशभरका मुख्य १५ वटा शहरमा संसद पुनस्थापनाको माग गदै विरोधसभा गरिसकेको छ ।
केन्द्रीय सदस्य भिम राईले आफुहरुले शक्ति प्रर्दशन गर्न नभै प्रधानमन्त्री ओलीको असंवैधानिक कदम विरुद्धमा विरोध जनाउन कार्यक्रम रहेको दाबी गरे । उनले सडकमा मानिसहरु उतारदैमा शक्ति प्रदर्शन नहुने जिकिर गरे । ‘सडकमा भिड देखाएर शक्ति प्रदर्शन हुन्छ भन्ने गलत राजनीतिक संस्कार हो, यसलाई हामी चिर्न चाहान्छौं,’नेता राईले भने,‘हामी प्रधानमन्त्रीको असबैधानिक कदमको विरुद्ध र प्राप्त उपलब्धीहरुको रक्षाका लागी सर्घषरत छौं, जनतालाई जागरुक गराउनेतर्फ लागिरहेका छौं ।’
उनले अदालतबाट संसद पुनस्थापना हुनेमा आफु विश्वस्त रहेको बताउदै निर्वाचनको प्रचारबाजी गर्नुको औचित्य नभएको बताए । चुनाव हुने अवस्था भएपनि निष्पक्ष नहुने उनले बताए । सरकारको गतिविधि, निर्वाचन आयोगको गतिविधिले निर्वाचन निष्पक्षतामा शंका छ, राज ज्ञानेन्द्रले गरेजस्तो चुनावमा सहभागी हुदैनौं, उनले भने ।