धरान: संसद विघटनविरुद्ध धरानमा आज नेपाली कांग्रेसले बृहत मोटरसाईकल र्याली निकालेको छ ।

कांग्रेस केन्द्रको पुर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार आज देशभरको स्थानीय तहमा विरोध प्रर्दशन भएको हो । धरानमा चतरालाइनस्थित पब्लिक माविको मैदानबाट मोटरसाइकल र्याली शुरु भएको थियो । र्याली कलेज रोड, मुनाल पथ, राँगाचौक, दुर्गाचौक, कल्याण चौक, रेलवे हुदै वीपी प्रतिष्ठानबाट धनकुटे रोड, बरगाछी, श्यामचौक, माछाभौडी, भानुचौ, छाताचौक हुँदै उपमहानगरपालिको गेट अघि पुगेर कोणसभामा परिणत भएको थियो ।

congress-bike

कोणसभालाई सम्बोधन गर्दै नेपाल तरुण दल धरानका अध्यक्ष हिमाल श्रेष्ठले कम्युष्टि सरकारले जनमतको कदर नगरेको बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक कु गरेको बताउदै ओली सरकार प्रतिगमनतिर अघि बढेकोले सडकबाट सशक्त आन्दोलन गर्नुपर्ने बताए । संविधान र जनताको अधिकारको रक्षा गर्न सडक आन्दोलन गरेर संसद पुर्नस्थापना गर्नुपर्ने उनले बताए ।

यस्तै, कांग्रेसका पूर्व नगर सचिव सुधिर लिम्बुले पनि कम्यूनिष्ट सरकारले देशलाई अध्याँरोतिर धकेलेको बताए । कांग्रेस सुनसरीका जिल्ला सदस्य प्रेम लकान्द्रीले नेकपाको आन्तरिक झगडाको कारण संसद विघटन गरिएको र जनताले दुःख पाएको बताए । कोणसभामा कांग्रेस नेतृ निलु गिरी थापाले कम्युनिष्ट सरकार भ्रष्टचारमा चुर्लुम्म डुबेको र भागबण्डा नमिल्दा संसद भंग गरिएको बताइन् ।