धरान: संसद विघटनविरुद्ध नेकपाको प्रचण्ड-माधव समुहले शनिबार धरानमा वृहत विरोध प्रर्दशन गरेको छ ।
प्रचण्ड-माधव समुहको धरान उपमहानगर संघर्ष समितिको आयोजनामा विरोध प्रर्दशन गरेको हो । भानुचोकमा विरोध सभा हुनुअघि छाताचोक, हुलाक कार्यालयबाट र्याली निस्केको थियो । त्यसअघि धरानको विभिन्न चोक हुदै मोटरसाइकल र्याली निस्केको थियो । र्याली भानुचोकस्थित लोकतान्त्रिक चौतारीमा पुगेर विरोध सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै स्थायी कमिटि सदस्य तथा प्रदेश १ इञ्चार्ज भीमप्रसाद आचार्यले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले जनताको हितमा काम गर्न नसकेको आरोप लगाए । सरकारले जनतालाई करको भार मात्र थोपरेर पीडा दिएको भन्दै आचार्यले गलत नगर्न पार्टीले सचेत गराएको बिषयलाई अहिले प्रधानमन्त्री ओलीले कामै गर्न नदिएको भन्दै प्रचार गरिरहेको पनि बताए । ‘जथाभावी काम नगर्नुस्, जनताको पक्षमा घोषणा पत्र अनुसार काम गर्नुस् भनेर सुझाव दियौं, तर सुनेनन् । तीन बर्षसम्म जनताको हितमा काम केही पनि गरेन,’आचार्यले भने,‘आलोचना नसुन्ने, आफै पनि नसच्चिने । निमुखा जनता जहीको त्यही छ, सरकार रमिते बन्यो’
कोभिड महामारीमा लकडाउन गर्ने र ओछ्यानमा सुत्ने काम मात्र सरकारले गरेको पनि आचार्यले आरोप लगाए । पार्टीले महंगी नियन्त्रण गर्न, विकास र सुशासन कायम गर्न, जथाभावी कर नथोपर्न भन्दा काम गर्न नदिएको आरोप लगाइरहेको आचार्यको दाबी थियो । उनले भने,‘पार्टीले के गर्न दिइएन ? लोकतन्त्र विपरीत काम गर्न दिइएन, कालाबजारी पोस्न दिइएन, जनताको हित विपरीत काम गर्न दिइएन ।’ सहमति गरेर ओलीलाई सरकार ५ बर्ष चलाउन दिएको पनि उनले बताए । एमाले-एमाले जुटौं भनेर प्रतिगामी बनाउने खेल भइरहेको पनि उनले बताए ।
प्रदेश कमिटी सदस्य मुक्साहाङ मेन्याङ्बोले कम्युनिष्ट पार्टीको मुखुण्डो ओडेर प्रधानमन्त्री ओलीले संवैधानिक कु गरेको आरोप लगाए । सरकारले ल्याएको हरेक बजेट, नीति तथा कार्यक्रम, ऐनहरु पास भएको भन्दै उनले पनि पार्टीले असहयोग गरेको भन्ने भनाई ठिक नभएको दाबी गरे । प्रदेश कमिटी सदस्य तथा जिल्ला सचिव रमेश बस्नेतले जनताले ५ बर्षको लागि काम गर्न कम्युनिष्टलाई बहुमत दिएको तर प्रधानमन्त्री ओलीले संविधान कुल्चेर संसद विघटन गरेको बताए । उनले संसद पुर्नस्थापना नभएसम्म संविधानको काम नलाग्ने भन्दै आन्दोलनबाटै पुर्नस्थापना हुने बताए ।