विराटनगरः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको बरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सर्वसत्तावाद भएको भन्दै साथ दिन नसकिने बताए ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले कांग्रेस विधि र सिद्धान्तमा अडिग रहने भन्दै संविधान टेकेर मात्र चुनावमा जाने पनि बताए । 'कांग्रेस विधि र सिद्धान्तमा अडिग रहने पार्टी हो, त्यसैले ओलीको सर्वसत्तावादमा साथ दिन सकिदैन, हामी संविधानमा टेकेर मात्र चुनावमा जान चाहन्छौँ,'उनले भने ।
अहिलेको अवस्थामा कांग्रेस चुनावमा नजाने उनले जिकिर गरे । पार्टीको कुनै पनि पक्ष दायाँबायाँ गर्न नपाइने भन्दै उनले भने,'असंवैधानिक र प्रतिगमनकारी कार्यलाई साथ दिइदैन, र कांग्रेसले बिरोध गर्छ । पार्टीले भनिसकेको छ, ओलीको सर्वसत्ताबादलाई सहयोग गर्दैन ।’ संविधानमा नभएको धारा प्रयोग गरेर प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै नेता पौडेलले संविधान भत्कनुमा राष्ट्रपतिको पनि भुमिका रहेको टिप्पणी गरे । उनले संसद विघटन व्यवस्था माथिकै 'कू' भएको पनि बताए । 'कांग्रेसले संविधान बनाउन चाहेको छ, यस्तो अवस्थामा चुनाव हुनैसक्दैन,'नेता पौडेलले भने ।
ओलीको कदमले नेपाललाई अफगानिस्थान बनाउने खोजिएको उनको भनाई थियो । मुलुक अस्थिरतामाफसेको भन्दै उनले सनकको भरमा ओलीले विधिको शासन कुल्चेको बताए । 'मुलुकलाई अफगानस्थिान बनाउन खोजियो । अब देश कहाँ पुग्छ, कहाँ,’ नेता पौडेलले भने,'सनकको भरमा विधिलाई कुल्चिदै हिडेपछि कानूनको कामै भएन ।’ अर्को एक प्रसंगमा नेता पौडेलले प्रदेशमा अविश्वासको प्रस्तावको पक्षमा उभिने पनि जिकिर गरे । उनले कांग्रेस सत्ताको विपक्षी भएकोले अविश्वासको प्रस्तावलाई साथ दिनुपर्ने पनि धारणा राखे ।