धरान: नागरिक आगुवाहरुमाथि सोमबार राजधानीमा सरकारले निर्मम दमन गरेको विरोधमा धरानका नागरिक अगुवाहरुले विरोध प्रर्दशन गरेका छन् ।
संसद विघटनको विरोधमा सोमबार राजधानीमा निस्किएको नागरिक अगुवाहरुको प्रर्दशनमा प्रहरीले निर्मम दमन गरेको थियो । सोही दमनको विरोधमा आज मंगलबार धरानमा पनि विरोध प्रर्दशन भएको हो । नागरिक हकका लागि नागरिक अभियान धरानको अगुवाईमा मौन जुलुस भएको थियो । छाताचोकबाट शुरु भएको मौन जुलुस भानुचोकसम्म पुगेको थियो । विरोध प्रदर्शनमा बुद्धिजिवी, पत्रकार, विभिन्न संघ संस्थाका प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।
नेपाल पत्रकार महासंघ सुनसरीका पुर्वअध्यक्ष एवं प्राध्यापक राजेश विद्रोहीका अनुसार सरकारले नागरिकहरुको आवाजलाई दमन गरेको कारण नागरिकहरुको हक रक्षाको लागि धरानमा पनि मौन जुलुस भएको हो । केही दिनपछि धरानमा विरोध सभा पनि आयोजना गर्ने तयारी भइरहेको उनले बताए । 'नागरिकहरुको हक, अधिकारको रक्षाको लागि जो पनि सहभागी हुनसक्छन्,'उनले भने ।